मेरो सपनाको तारा (कविता)- रामहरि अधिकारी
मेरो सपनाको तारा
मैले सपनामा देखेको आकाश,
त्यही आकाशमा उदाएको तारा,
मैले दिनमा भोगेका पिडावाट राहत लिएको त्यो सपना,
मैले विपनामा सहेको दुःखवाट विश्राम लिएको त्यो सपना,
जतिवेला सारा संसार अँध्यारो कुहिरोभित्र हराएको थियो,
त्यही वेला मेरो सपनामा त्यो तारा उदाएको थियो ।
कत्ति दुख गरेर अनि सास्ती खेपेर हुर्काएको त्यो सपना,
विपनामा कत्ति ऐठन हुदा पनि परित्याग गर्न नसकेको त्यो सपना,
विपनामै कहालीन्छु, कतै त्यो सपना झुटो हुने पो हो कि भनेर,
कति मलजल गरेको थिएँ, त्यो सपना नओइलाउोस् भनेर,
कति दह्रोसंग मुटु समातेको थिएँ,
त्यो सपनाको तारा अनायासै नझरोस् भनेर,
त्यो चम्किलो ताराले यौटा आशा जगाएको थियो,
कालो रातको बीच यौटा ज्योति जगाएको थियो,
त्यो तारा,
सपनामै कतै नझरोस् भनेर मैलै मेरो पोल्टोमा सुरक्षित राखेको थिएँ,
पोल्टोवाट नपोखियोस् भनेर च्याप्प पटुका कसेको थिएँ,
अहिले त कठै मेरो निन्द्रा खुले झैं भएको छ,
मेरो तारा यतै कतै छ कि भनि खोज्न थालेको छु ।
त्यो तारा मेरो मायाँको प्रमाण हो,
त्यो तारा मेरो समर्पणको प्रतिक हो,
त्यो तारा मेरो आस्थाको धरोहर हाे
त्यो तारा हराउन हुँदैन,
अँधेरो आकाशको गर्तमा विलिन हुनु हुँदैन,
तर व्युँझदा जताततै ग्रहण लागे झैैँ भएको छ,
आकाशभर डम्म वादल लागेको देख्दै छु म,
मलाई डर जागेको छ ,
कतै मेरो त्यो चम्किलो तारालाई दुष्ट राहु केतुले त खाइदिएन ,
कतै वादल भित्रको चट्याङले नष्ट त गरेन ?
म रुँदा रुँदै आँसुको कोशी, गण्डकी र कर्णाली वगिसकेको छ,
तर म खोजि रहेको छ,
मेरो तारा अझै भेटिन्छ कि भनेर,
मेरो आशा झिनो नै सहि, तर मरि सकेको छैन,
यो राहु केतुले मेरो तारालाइ निल्न सक्दैन,
किनभने म छु नि यहि सपनाको सहारामा वाँचेकाेे,
मलाई अझै विश्वास छ,
यो वादल क्षँणिक हो ,
यसले मेरो तारालाई सधैैं छोप्न सक्दैन,
म विश्वस्त छु,
एक दिन यि राहु र केतु अलप हुनेछन्, क्यालेण्डरको परिवर्तन सँगै,
यो वादल अनि आँधिवेहरी थामिनेछ, ऋतुको वदलावसँगै,
अनि मेरोे सपनाको तारा फेरी उदाउने छ,
फाट्नेछ कालो रातको सारा अन्धकार
विस्तारै त्यो सुनहरी सपना विपना हुनेछ
तर त्यो विपना पनि सपना जस्तै चम्किलो हुनेछ
आउने छ मेरो सपनाको चम्किलो तारा,
मेरो समिपमा, मेरो भविश्यको विश्वास भएर,
मेरो तारा आउनेछ मेरो सपना साकार पार्न,
मेरो सम्पुर्ण जीवनको आधार भएर ।
रामहरि अधिकारी
दोर्दी- १, लमजुङ्ग
२०७७ भाद्र ११ गते