माक्स लगाउँदा नकारात्मक असर पर्छ त ?
संक्रामक रोगको पछिल्लो अवस्था हेर्दा जनसमुदायमा आफू र आफ्नो समुदायले सुरक्षित महशुस गर्न रोगसम्बन्धी आवश्यक प्रस्ट र एकनासको जानकारी पाउनु पर्ने हुन्छ। यो हिसाबमा मास्कसम्बन्धी केही जानकारी भ्रामक रहेको देखिन्छ।
कोरोना संक्रमणको आजसम्मको अध्ययन हेर्दा, यसको अचुक उपचार छैन। विभिन्न विज्ञहरूले सुझाएअनुसार यसबाट बच्ने भनेकै कम्तिमा १ मिटर र सकेसम्म २ मिटर दुरी कायम गरेर बस्ने, मास्कको अनिवार्य र सही तरिकाले प्रयोग गर्ने, अनि साबुनपानीले हात धुने वा स्यनिटाइजर प्रयोग गर्ने।
यहाँ मैले मास्कसम्बन्धी चर्चा गरेका छु र सकेसम्म यथेस्ट र सोधमा आधारित जानकारी गराउनेछु।
कोरोना सुरू भएका बेला मेडिकल मास्कको प्रयोग सबैले नगर्न भनेर सूचना निकालियो। यसका दुइटा कारण थिए।
पहिलो, मेडिकल मास्क सबैले प्रयोग गरेको खण्डमा मेडिकल मास्क अभाव हुने अनि उपचारमा संलग्न स्वास्थ्यकर्मीले नपाउने। यसले गर्दा स्वास्थ्यकर्मीहरू संक्रमित हुन सक्ने र उपचारको चक्र नै बिग्रिन सक्ने हुन्छ।
दोस्रो, मास्कले कोरोना नियन्त्रणमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराको प्रमाण स्पष्ट थिएन।
तर अहिले मास्कको सर्वव्यापी प्रयोग गर्नु पर्ने कुराहरू विभिन्न अनुसन्धानले प्रमाणसहित देखाइरहेका छन्। मास्क प्रयोगले कोरोनाको श्रोतको नियन्त्रण गर्ने र निरन्तर मास्क प्रयोग गर्नेहरूमा कोरोना लागिहाल्यो भने पनि रोगको गम्भीरता कम भएको देखिएको छ।
श्रोतको नियन्त्रण जनस्वास्थ्यको एउटा महत्वपूर्ण र बलियो खम्बा हो। बेलायतमा कोलेरा रोग नियन्त्रणमा यसैको प्रयोग भएको इतिहास हामीसँग छ।
हामी अहिले फेरि त्यो विधिको प्रयोग गरी कोरोना नियन्त्रण गर्ने घडीमा छौं। मास्क आफैंले शतप्रतिशत संक्रमण रोक्ने त हुँदैन। तर यो सँगसँगै जनस्वास्थ्यका उपायहरू जस्तो, भौतिक दुरी, संकास्पदको परीक्षण, सम्पर्कमा आएकाको खोजी अनि सामूहिक क्रियाकलापहरू बहिष्कार गरियो भने रोग फैलिन रोक्नुको साथै संक्रमण पनि कम हुन जान्छ।
मास्क प्रयोगलाई लिएर जनसमुदायमा केही भ्रम पनि पाइएको छ। यहाँ मैले तीन मुख्य भ्रमबारे चर्चा गरेको छु।
पहिलो भ्रम – मास्क जति बेला पनि लगाउने हो भने अक्सिजनको मात्रा घट्छ र कार्बन डाइअक्साइड पुनः तानिन्छ। यसले शरीरमा दुष्प्रभाव देखिन्छ।
यो सरासर गलत छ।
मास्क लगाउँदा अक्सिजन मात्रा घट्दैन र कार्बन डाइअक्साइडको दुष्प्रभाव पनि पर्दैन। तपाईंहरू याद गर्नुस्, अस्पतालमा काम गर्ने प्रायः स्वास्थ्यकर्मी, विशेष गरेर सर्जरी विभागका स्वास्थ्यकर्मीले दशकौंदेखि मास्कमै काम गरेका हुन्छन्। उनीहरूमा यसरी लामो समय मास्क लगाउँदा दुष्प्रभाव परेको अध्ययनले देखाएको छैन।
हालै आयरल्यान्डका एक जना चिकित्सकले पनि यसबारे बुझाउने भिडिओ बनाएका थिए। ती चिकित्सकले छवटा मास्क लगाएर अक्सिजनको मात्रा हेरेका थिए।
उनले एकदेखि छवटा मास्क लगाउँदासम्म पनि अक्सिजन मात्रा कम भएन, ९९ प्रतिशतमै बसेको कुरा भिडिओमा देखाएका थिए। अक्सिजन मात्रा ९४ प्रतिशत वा त्योभन्दा कम भएको खण्डमा मात्रा असहज स्थिति उत्पन्न हुन्छ।
तर कसैलाई मास्क लगाएका बेलामा असजिलो हुन सक्छ। यस्तो अवस्थामा के गर्नेरु
मास्क लगाउँदा श्वासप्रश्वासमा असहज भएजस्तो लागेमा बोल्ने समय कम गर्ने। सकेसम्म नाकबाट श्वासप्रश्वास गरियो भने सजिलो हुन्छ।
त्यस्तै व्यायाम गर्नुहुन्छ भने, मास्क नलगाइकन गर्नु पर्छ। व्यायाम गर्दा सास बढ्ने र मास्क छिटो भिज्ने हुन्छ। यस्तोमा सास फेर्न झन् गाह्रो हुन्छ। योबाहेक भिजेको मास्कमा हानिकारक किटाणु जम्मा हुनाले अरू संक्रमण हुने खतरा पनि हुन्छ। त्यसैले व्यायाम गर्दा सामाजिक दुरी कायम गरेर मास्क नलगाई गरे राम्रो हुन्छ।
दोस्रो भ्रम – मास्क लगाए पनि संक्रमण हुन सक्छ, त्यसैले मास्क लगाउन पर्दैन।
यो पनि सरासर गलत आचरण हो।
विभिन्न अध्ययनका अनुसार एक व्यक्तिले मास्क लगाउँदा करिब ५० प्रतिशतले संक्रमण फैलिने क्रम घट्ने देखिएको छ। त्यस्तै दुई जनाले नै मास्क लगाउँदा करिब ९० प्रतिशतले संंक्रमण फैलिने क्रम रोकिएको पाइएको छ।
यसबाट मास्क लगाउन कति जरूरी छ भन्ने बुझ्नुपर्छ। घरबाट बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउने गरौं।
तेस्रो भ्रम- स्वस्थ देखिएको व्यक्तिले मास्क लगाउन पर्दैन।
यो त झन् जोखिमपूर्ण भ्रम हो।
वास्तवमा करिब ६० प्रतिशतमा कोरोनाका कुनै लक्षण देखिँदैन। यदि लक्षण नभएको तर संक्रमण भएको व्यक्तिले आफूलाई स्वस्थ मानेर मास्क नलगाई हिँडेमा के होला, आफैं सोच्नुस् त !
यसरी मास्क नलगाई हिँड्ने र अरूमा संक्रमण सार्नेलाई जनस्वास्थ्यमा सुपर स्प्रेडरु भनिन्छ। यसअनुसार ८० प्रतिशत संक्रमण फैलाउने काम यस्तै २० प्रतिशत संक्रमितले गर्छन्।
कुनै संक्रमितमा लक्षण देखिन्छ, कुनैमा देखिँदैन। त्यसैले पनि मास्क लगाउन एकदमै महत्वपूर्ण हुन्छ।
(यो लेख सेतोपाटीबाट साभार गरिएको हो ।)
(डा। खनाल त्रिभुवन विश्वविद्याल अन्तर्गत इन्स्टिच्युट अफ मेडिसिनका जनस्वास्थ्य विभाग र आँखा विभागमा छन्)