भदौ १६ देखि सशर्त अन्तराष्ट्रिय उडान, के के छन् शर्त ?

मूलखबर संवाददाता
काठमाडौं, ६ भदौ ।

सरकारले भदौं १६ ९सेप्टेम्बर १० देखि अर्न्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार, आरटीरपीसीआर परिक्षण सहज भएका मुलुक तथा सहरबाट नियमित उडान खुला गरिएको हो । एक दिनमा यात्रुको आगमन संख्या ५ सय तोकिएको छ ।

शर्तहरु-

1. ‘आरटी/पीसीआर परीक्षण सहज भएका मुलुक र सहरहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मलुकबाट नेपाल सरकारको अनुमति पाएका नेपाली नागरिकहरु र नेपालस्थित विदेशी नियोगका कटुनितिज्ञ तथा कर्मचारीहरु, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्ने,’ भदौं १६ पछि हुने नियमित उडान तालिका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने छ ।

2. आरटी/पीसीआरको व्यवस्था सहज नभएका मुलुकबाट तत्काल नियमित उडान हुने छैनन् । ‘ जस्तै साउदी अरब, कुबेत, कतार र अन्य मुलुकबाट नियमित यात्रु ल्याउन पाइने छैन,’  तर, त्यस्ता मुलुकबाट नियमति उडान नभई सरकारको अनुमतिमा मात्रै उद्धार (चार्टर) उडान भने हुनेछन । त्यसका लागि ती मुलुकमा रहेका नेपाली कुटनितिक नियोगले सिफारिस गरेको नामावलीका आधारमा मात्रै चार्टर उडान गर्न सकिने छ ।

3. सरकारले एउटै उडानमा आरटी–पीसीआर नेगेटीभ र परीक्षण नभएका व्यक्तिलाई मिसाएर ल्याउन निषेध गरेको छ । यदि यसरी मिसाएर ल्याइएमा एयरलायन्सले खर्च व्यहोर्ने गरी सबै यात्रुलाई होटल क्वारेन्टाइनमा राखिने छ भने एयरलायन्सलाई सरकारले कारबाही गर्ने छ । त्यसैगरी वायुसेवा कम्पनीहरुले आरटी–पीसीआर परीक्षण नगराएका, होटल बुकिङ नगरेका वा अन्य शर्त पूरा नगरेका यात्रुलाई ल्याउन पाउने छैनन् । कुनै अनियमियतता गरेको पाइएमा त्यस्ता वायुसेवा कम्पनीलाई पर्यटन मन्त्रालयले प्रचलित कानुन अनुसार कारबाही गर्ने छ ।

4. नेपाल आउन खुला गरिएका मुलुकबाट आउने यात्रुले ७२ घन्टा अघिको आरटीरपीसीर नेगेटीभ भएको रिपोर्ट बुझाउनुपर्ने

5. नेपाल आउने यात्रुहरुले विदेशबाटै कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेभसाइटमा रहेको फर्म अनिवार्य भरेर साथै ल्याएर आउनुपर्ने छ । हार्डकपी नभएमा बारकोड बुझाउनुपर्ने छ ।

6. यात्रुले ७ दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होटलको बुकिङ पनि अनिवार्य गरिएको छ ।

यी सबै गरेमा मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका प्रकाशन गर्नुपर्ने छ ।

7. आरटीरपीसीर नेगेटीभ भएको रिपोर्ट बुझाएर आएका यात्रुहरुको होटलको बसाइ सकिएपछि नेपालमा पुन परीक्षण हुने, उनीहरुको रेकर्ड राखिने छ ।  त्यसपछि ती यात्रुहरुले थप १४ दिन होम क्वारेन्टाइन पनि बस्नुपर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने, ‘१४ दिन होम क्वारेन्टाइनको अनुगमन’ को जिम्मेवारी मन्त्रिपरिषदले स्थानीय तहलाई दिएको छ ।

मूल्यसहितको होटलहरुको सूची विभिन्न जिल्लातहमा रहेका ‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र सीसीएमसीको वेबसाइटबाट सार्वजनिक गराउनुपर्ने छ । ती होटलहरुको सूची विदेशमा रहेका नेपाली नियोग तथा सबन्धित वायुसेवा कम्पनीलाई पनि जानकारी गराउनुपर्ने छ । यस विषयको व्यवस्थापनमा कुनै जटिलता देखिएमा पर्यटन मन्त्रालयले सहजीकरण गर्नुपर्ने छ ।

8. नियमित उडानबाट नभई उद्धार उडानबाट आरटी–पीसीआर परीक्षण नगरी आएका तर अरु नै जाँच (चिकित्सकको नो अब्जेक्सन पत्र लगायत)  गरेर नेपाल आएका यात्रुहरुले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । आएको पाँचौ दिनपछि स्वास्थ्य मन्त्रालयले आरटी–पीसीआर परीक्षण गर्ने छ । यदि मन्त्रालयको समन्वयमा भएको जाँचमा नतिजा नेगेटिभ आएमा थप ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

9. सरकारले श्रम गन्तव्यमा अलपत्र परेकालाई वैदेशिक रोजागर कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट मात्रै नेपाल ल्याउने छ । उनीहरुलाई कोषकै खर्चमा क्वारेन्टाइनमा राखिने छ । तर, उद्धार उडानबाट नेपाल आउने नेपालीले उपत्यकाभित्रका होटल क्वारेन्टाइनमा आफ्नै खर्चमा ७ दिन अनिवार्य बस्नुपर्ने छ । उनीहरुले १४ दिन थप होम क्वारेन्टाइनमा बस्नुपर्ने छ । – कान्तिपुरबाट