खोप के हाे ? कसरी काम गर्छ ?

कमल घिमिरे
काठमाडौं

विश्वव्यापी महामारीको रूपमा फैलिरहेकाे काेराेना भाइरस काेभिड १९ काे संक्रमणले अाज विश्वमा २ कराेड २० लाख बढी संक्रमित भएका छन् भने  करिब ७ लाख ८० हजारकाे ज्यान गइसकेको छ । २०१९ डिसेम्बरमा चिनबाट शुरू भएको याे भाइरस नियन्त्रणका अनेकौं प्रयत्नहरू भएतापनि प्रभावकारी बन्न सकेका छैनन् ।

यसअघिका सबै महामारीको नियन्त्रण र उन्मुलन खाेप विकासबाट मात्रै सम्भव भएको देखिएको सन्दर्भमा काेराेना नियन्त्रण पनि खाेपबाट मात्रै सम्भव हुन सक्ने ठानी रूस, चिन, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान लगायतका विकसित देशहरूले लगातार पयत्न र परिक्षण जारि राखेका छन् ।

वास्तवमा खाेप के हाे, कसरी विकास गरिन्छ र कसरी काम गर्छ भन्ने विषयमा थाेरै जानकारी दिन यहाँ काेशिष गरिएको छ ।

खोप केे हाे ?

शिशु जन्मेको पाँच वर्ष नपुग्दै उसलाई विभिन्न थरिका खोपहरु लगाइन्छन् । पोलियो, हेपाटाइटिस, दादुरा आदिजस्ता रोगका खोपहरु लगाइँदा शिशुमा पछि यी रोगहरु देखा नपर्ने बताइन्छ । यस्ता खोपहरुले कसरी काम गर्छन् त ?

हामीहरुमध्ये कैयौँले के सोचेका हुन्छौँ भने रोग लाग्दा दिइने औषधि जस्तै खोप पनि कुनै प्रकारको औषधि नै होला । तर, खासमा खोप दिँदा रोग सम्बन्धित भाइरस वा ब्याक्टेरिया नै शरीरभित्र पसाइन्छ । उदाहरणकोलागि दादुराको खोपमा दादुरा लगाउने किटाणुहरु नै हुन्छन् । तर, खोपमा ती कटिाणुहरुलाई शिथिल बनाइएका हुन्छन् । त्यसैले ती किटाणुहरुसँग रोग लगाउने क्षमता हुँदैन । वास्तवमा खोप दिनु भनेको शरीरमा पतिरोधात्मक प्रणाली निर्माण गर्नु हो ।

शिशु अवस्थामा नै खोपमार्फत यस्ता किटाणुहरु शरीरमा प्रवेश गराइएको खण्डमा शरीरमा सम्बन्धित रोगविरुद्धको प्रतिरोधात्मक क्षमता बढ्छ । र, भविष्यमा पनि रोग लगाउने किटाणु शरीरभित्र पसेमा केह कठिनाइ विना नै त्यसको प्रतिरोध हुने स्थिति कायम हुन्छ ।

खाेपले कसरी काम गर्छ ?

शरीरमा जब शिथिल बनाइएका किटाणुहरु प्रवेश गराइन्छन्, तब शरीरमा रहेका बि–सेलहरु (एक प्रकारको सेतो रक्तकोष) क्रियाशील हुन्छन् । बि–सेलहरु क्रियाशील हुँदा शरीरमा एन्टिबडीहरुको निर्माण हुन्छ । यी एन्टिबडीले रोग लगाउने ब्याक्टेरिया वा भाइरसविरुद्ध प्रतिरोध गर्छन् । त्यसैले कैयन् खोपहरु एकपटक दिइसकेपछि जीवनभरको लागि शरीरमा निश्चित प्रकारको रोगविरुद्ध प्रतिरोध गर्ने क्षमता कायम रहेको हुन्छ ।
तर, कुनै कुनै खोपले जीवनभरको लागि काम गर्दैनन् । उदाहरणको लागि टिटानसको खोप (टिटि)ले खास समय सीमाको लागि मात्र काम गर्छ ।

यो र यस्ता खोपहरु निश्चित समय अन्तरालमा दिइनुपर्ने हुन्छ । मानिस जन्मिँदा ऊसँग निश्चित प्रकारका रोगहरुविरुद्ध मात्र लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । यो प्रतिरोधात्मक क्षमताको कारक तत्व उसको शरीरमा आमामार्फत प्राप्त हुने एन्टिबडीहरु हुन् । ढणतर, यी एन्टिबडीहरुले शिशुलाई एक वर्षसम्म मात्र सुरक्षा दिन सक्छन् । त्यस्तै, अन्य कैयन् रोगविरुद्ध प्रतिरोध गर्ने एन्टिबडीहरु शिशुमा आमामार्फत् प्राप्त हुँदैनन् । त्यसैले भविष्यमा लाग्न सक्ने रोगविरुद्ध लड्न शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई तयार राख्नको लागि शिशुलाई खासखास रोगका खोपहरु दिइन्छन् ।

(घिमिरे त्रिभुवन विश्वविद्यालयमा बनस्पति शास्त्रमा विद्यावारिधि साेधार्थी छन् )