लिदी गाउँ शाेकमा : स्थानान्तरणका लागि पटकपटक प्रशासनसँग आग्रह, वेवास्ताले बेहाल

मूलखबर संवाददाता
काठमाडौं

सिन्धुपाल्चोक लिदी गाउँ अहिले शाेकमा छ । पहिरोका धेरै घटनाबारे स्थानीयले पूर्वानुमान गरेका हुँदैनन् तर लिदी गाउँकाले भने पहिरोको जोखिमबारे स्थानीय प्रशासनलाई जानकारी गराउँदागराउँदै पनि समयमै स्थानान्तरण नगर्दा यो विपत्ति आइलागेको छ ।

गाउँभन्दा माथिको जमिनमा धाँजा फाटेको भन्दै स्थानीयले बस्ती स्थानान्तरणका लागि पटकपटक प्रशासनसँग आग्रह गर्दैआएका थिए । तर समयमै बस्ती स्थानान्तरण नहुँदा दर्जनाैँ बेपत्ता छन् ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, लिदीका स्थानीयले पहिले नै असुरक्षित महसुस गरेका थिए । उनीहरूले आफूहरूको बस्ती अन्तै सार्न प्रशासनसँग पटकपटक आग्रह गरे, तर प्रशासनले चासो दिएन । अन्ततः बस्ती नै पहिरोले लग्यो । जुगल गाउँपालिका वडा नं २, गोल्चेका अध्यक्ष प्रताप लामाले गाउँ कार्यपालिकाको बैठकमा आफूले आफ्नो वडाको १४९ घर पहिरोको जोखिममा रहेकाले स्थानान्तरणको माग राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जिल्लामा पनि सीडीओलाई लगेर पनि स्थानान्तरणको मागको निवदेन दिएका थियौँ ।’

शुक्रबार बिहान साढे ६ बजेतिर गाउँभन्दा माथि खसेको पहिरोमा तीन दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ तर सकुशल भेटिनेमा स्थानीयले शङ्का गरेका छन् । ग्रामीण भेगमा सडकको उचित पहुँच नपुगेकाले उद्धारकर्मीसमेत समयमै नपुग्न सकेनन् ।

लिदीका स्थानीयले गाउँपालिकामा पुगेर करिब डेढ महिनाअघि पहिरोले लिदी गाउँ जोखिममा परी १४९ घरमा क्षति हुने सम्भावना रहेको भन्दै बस्ती सार्न आग्रह गरेका थिए । स्थानीयले गाउँको प्रायः ठाउँहरू धाँजा फाटेको, कति ठाउँ बगेको भन्दै पहिले नै असुरक्षित महसुस गरेका थिए । साउन २३ गते आठ जना स्थानीयले सदरमुकाम आएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा उनीहरूले जोखिमपूर्ण बस्तीको आवश्यक अध्ययन गरी आवश्यक प्रकृया अघि बढाउन अनुरोध गरेका थिए । माथिबाट पहिरोको डर र तल ब्रम्हायणी नदीमा निर्माण भइरहेको बलेफी ए जलविद्युत आयोजनाको कारणले बस्ती नै जोखिममा परेको उनीहरूले निवेदन दिएका थिए ।

पुरिएकाको संख्या अझै यकिन हुन सकेको छैन 

पहिरोमा परेका पाँच स्थानीयको शव नेपाली सेनाले निकालेको छ ।  उनीहरू सबैको सनाखत भएको छ । उद्धारमा संलग्न स्थानीय विष्णु दोङले दिएको जानकारीअनुसार ३२ वर्षीया टीकामाई दोङ, १७ वर्षीय छिरिङ दोङ, ७९ वर्षीया वृद्धाबिताई दोङ, ६५ वर्षीय जयबहादुर दोङ र १० वर्षका बालक मिलन दोङको पहिचान खुलेको हो ।

पुरिएर बेपत्ता हुनेमा मानबहादुर दोङ, प्रिया दोङ, कान्छो दोङ, सानोकान्छी दोङ, प्रिती दोङ, वाङ्छोलामो दोङ, धनमाया तामाङ, रेनिस दोङ, भेउमाया दोङ, विमला दोङ, माइला दोङ, प्रकाश दोङ, साइँली दोङ, आयुष दोङ, सुभाष तामाङ, छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी दोङ र सिरमाया दोङ छन् ।

त्यसैगरी बिबिरानी तामाङ, बिबिलक्ष्मी तामाङ, सानुकान्छा दोङ, साङ्लोमो दोङ, सोनाम दोङ, हिरा कामी, जिते कामी, सानोकान्छी दोङ, दिन्दुस दोङ, सुरज दोङ, सुमन दोङ, करिष्मा दोङ, च्यामा दोङ, साङदोङ तामाङ, देउमाई दोङ र छिरिङ दोङ रहेका छन् ।

पुरिएकाको संख्या अझै यकिन हुन सकेको छैन ।

उद्धार कार्य जारी रहेको श्रेष्ठले बताए । पुरिएकामध्ये सुभाष तामाङ वडा नं. ३ बोल्दे गाउँका हुन् । उनी मामाघर आएका थिए ।

शुक्रबार बिहान ६ बजेर ५० मिनेट जाँदा लिदीमा ठूलो पहिरो गएको थियो ।

गाउँको बीचभागमा आएको पहिरोले ३७ घर पुरेको थियो । ३७ मध्ये २० घर भने खाली थिए ।