कोरोना संक्रमण बढ्दो, भेन्टीलेटर अभाव, सरकार भन्छ-‘किन्ने पैसा छैन’, दाताले दिए ८० भेन्टीलेटर

मूलखबर संवाददाता
काठमाडौं, ३० साउन ।

विश्वव्यापी महामारीको रपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट नेपालमा हालसम्म ९५ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउने अधिकांशले भेन्टीलेटर नपाएका कारण ज्यान गुमाए । अझ धेरैले त अस्पतालले भर्ना लिनै नमान्दा र कतिपयले अस्पतालको लापरवाहीले पनि ज्यान गुमाएका पीडित परिवारले सार्वजनीक अभिव्यक्ति दिइरहेका छन् ।

सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरिरहेको बताएपनि हालसम्म एउटा पनि भेन्टीलेटर सरकारले किनेको छैन । भएका ८० वटा भेन्टीलेटर सबै अरुबाट दान आएको भेन्टीलेटरमात्रै भएको आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन् ।

गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटर किन्न भने कुनै चासो देखाएको छैन । त्यसका लागि दाताहरूसँग हात थाप्ने काम गरिरहेको छ ।

सात महिनामा विभिन्न अस्पतालमा ८० भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले किनेका होइनन्, सबै दाताले दिएका हुन् । संक्रमितको उपचारका लागि एक सय २० आइसियू बेड थप्ने घोषणासमेत सरकारले पूरा गर्न सकेको छैन् ।

स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाका एक अधिकारीले भने, ‘भेन्टिलेटर किनिएको छैन, प्रक्रिया पनि छैन, यो विषयमा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । तर त्यस्तो निर्णय गरेको जानकारी आएको छैन ।’ प्रवक्ता जागेश्वर गौतमले एक वाक्य मात्र प्रतिक्रिया दिए, ‘भेन्टिलेटर किनेको विषय मेरो जानकारीमा छैन ।’

चौधरी फाउन्डेसनले दिएका आठवटा भेन्टिलेटर ग्रहण गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । भेन्टिलेटर बुझाउँदै फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरी ।

मन्त्रालयका अनुसार टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले आठ, सानोपाइला संस्थाले ६ र वान हार्टले दुई भेन्टिलेटर सहयोग गरेका छन् । त्यस्तै, भारतले नेपाली सेनालाई १० भेन्टिलेटर उपलब्ध गराएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन् । तीमध्ये कोरोना संक्रमितको उपचारका लागि चार सय ५० आइसियू र एक सय ६४ भेन्टिलेटर छुट्याइएको छ । प्रदेश १ मा ३४, प्रदेश २ मा १७, बागमतीमा ५३, गण्डकीमा १६, प्रदेश ५ मा २८, कर्णालीमा १० र सुदूरपश्चिमका अस्पतालमा ६ भेन्टिलेटर छन् । त्यस्तै, प्रदेश १ मा एक सय दश, प्रदेश २ मा ४६, बागमतीमा एक सय ७०, गण्डकीमा १५, प्रदेश ५ मा ७७, कर्णालीमा १७ र सुदूरपश्चिमका अस्पतालमा १५ आइसियू बेड रहेको मन्त्रालयले जनाएको छ ।

यसबीचमा सरकारले पाटन अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २०–२० गरेर एक सय २० आइसियू बेड थप्ने घोषणा गरेको थियो । त्यसका लागि प्रतिअस्पताल १२ करोड ५० लाखका दरले रकम निकासा गरिएको स्वास्थ्य मन्त्रालयको दाबी छ । तर, टेकु अस्पतालबाहेक अन्यत्र आइसियू थपिएका छैनन् ।

वीर अस्पतालले आइसियू खरिदको प्रक्रियासमेत अघि बढाएको छैन । पाटन अस्पतालले चलाखी गर्दै पुरानै बेडलाई व्यवस्थापन गरी २१ वटा आइसियू बेड कोरोना संक्रमितका लागि तयार गरेको छ । अस्पतालका निर्देशक डा। विष्णु शर्माले सरकारले भनेअनुसार नै आइसियू बेड तयार भएको दाबी गरे । अन्य अस्पतालले पनि नयाँ उपकरण ल्याएर सेटअप गरेको जानकारी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।