भारतले गल्ती सच्याउँदै भन्यो-‘गौतम बुद्ध नेपालमै जन्मीएका हुन्’

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन ।

भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।

भारतका विदेश मन्त्री एस जयशंकरले शनिबार एक भर्चुअल कार्यक्रममा दिनुभएको गलत टिप्पणीलाई सरकारका तर्फबाट भारतीय विदेश मन्त्रालयले सच्याउनु परेको हो ।

साझा बौद्ध बिरासतसँग जोडिएको गौतमबुद्धको बारेमा त्यस सम्मेलनमा कुरा भएको मन्त्रालयले प्रष्ट पारेको छ । “ बुद्ध लुम्बिनीमा जन्मनु भएको थियो भन्ने बारेमा कुनै शंका छैन्, जुन नेपालमा पर्छ,” मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ ।

यस अघि भारतका विदेश मन्त्री एस जयशंकरले दिएको अभिव्यक्ति गलत र भ्रामक मात्रै नभई नेपाली सार्वभौमिकता विरोधी भएको भन्दै सर्बत्र आलोचना र विरोध भएको थियो । नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पुर्व परराष्ट्रमन्त्री तथा नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ लगायतले पनि उक्त भनाईको भत्र्सना गर्दै तत्काल सच्याउनुपर्ने बताएका थिए ।