खानेपानी मन्त्रालयकाे उल्लेखनीय उपलब्धि र प्रगति : कुन विभागकाे कति प्रगति ?

मूलखबर संवाददाता
काठमाडौं

खानेपानी मन्त्रालयले वितेकाे आर्थिक वर्षमा उल्लेखनीय प्रगति र उपलव्धि हाँसिल गरेकाे छ ।

खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६/०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे सम्पन्न  तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा मन्त्रालयले उल्लेखनीय उपलब्धि र प्रगति हासिल गरेकाे जानकारी दिइयाे ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा गत आइतबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए ।

समीक्षा बैठकमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको जानकारी सहसचिव अरुण सिंखडाले गराउनुभयो । मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई १ लाख ९० हजार २ सय ९२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको सहसचिव सिंखडाले बताउनुभयो । त्यस्तै गत आर्थिक वर्षमा २ सय ४२ आयोजना सम्पन्न भई १ लाख ९४ हजार ४२३ जनसंख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको बताइएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको आ. व. २०७६-०७७ मा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको जानकारी गराईयो । खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सह लगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको जानकारी महानिर्देशक सुनिलकुमार दासले दिनुभयो ।

त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२ दशमलब ८८ प्रतिशत रहेको बैठकमा जानकारी गराईयो । मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाईभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ ।

त्यस्तै गत आर्थिक वर्षको अवधिमा सबै अडिट तथा सुन्दरीजल पोर्टलमा समेत गरी ६ वटा गेट जडानको कार्य सम्पन्न भएको र सुन्दरीजल पोर्टलबाट पानी प्रशोधन केन्द्र सम्मको सप्लाई पाईप तथा बाग्मती नदी सम्मको वास आउट पाईप जडान कार्य सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले बताउनुभयो ।

आ. व. २०७६÷०७७ मा आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले भौतिक प्रगति ६८ प्रतिशत हासिल गरेको बैठकमा जानकारी दिईयो । त्यस्तै काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत रहेको बताईयो ।
आर्थिक वर्ष २०७६÷०७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनाहरु मध्ये ६ वटा सम्पन्न भई ४६ हजार ५ सय ३४ जनसंख्या लाभान्वित भएको, तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत २ वटा आयोजनाहरु सम्पन्न भई ५० हजार ५ सय ७० जनसंख्या लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन ६१ वटा आयोजनाहरुमध्ये ४ वटा सम्पन्न भई करिब ६१ हजार ७ सय ४३ जनसंख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिनुभयो । त्यस्तै जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्तर्गत २ वटा आयोजना सम्पन्न भई ३१ हजार ४ सय ४५ जनसंख्या लाभान्वित भएको खानेपानी विभागको भनाई छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत रहेको छ । नेपाल खानेपानी संस्थानको भौतिक प्रगति ७९ प्रतिशत रहेको जानकारी गराईयो ।

मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति अन्तर्गत गत आर्थिक वर्षमा २ सय ३८ वटा आयोजना सम्पन्न भई एक लाख ६८ हजार ७ सय ४ जनसंख्या लाभान्वित भएको कार्यकारी निर्देशक चोकप्रसाद धितालले बताउनुभयो ।

समीक्षा बैठकलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले खानेपानी तथा सरसफाईको क्षेत्रमा दीर्घकालीन रोड म्याप तयार गरेर मन्त्रालय अघि बढेको बताउनुभयो । ‘गत आर्थिक वर्षमा हामीले महत्वपूर्ण उपलब्धिहरु हासिल ग-यौं ।’ उहाँले भन्नुभयो, ‘यो चालु आर्थिक वर्ष हाम्रा लागि चुनौति र अवसरको हुनेछ ।’

मन्त्री मगरले भन्नुभयो, ‘मन्त्रालयको भौतिक प्रगति राम्रै छ । हामीले लक्ष्य पुरा गर्न अझै मेहनत गर्नुपर्ने हुन्छ । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्नु जरुरी छ ।’
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पन्ध्रौं योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्न मन्त्रालयका कर्मचारी एवं विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले गत आर्थिक वर्षमा राम्रो उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले सरकारले लिएको एक घर एक धाराको नीतिलाई कार्यान्वयन गर्न कटिबद्ध भएर मन्त्रालय अघि बढेको स्पष्ट पार्नुभयो ।