नेकपा स्थायी समिति बैठक : २१ नेताले बोले, १६ गते फेरी बस्ने, कसले के भने ?
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक असार १६ गते बस्ने गरी स्थगित भएको छ । गत बुधबारबाट शुरु भएको बैठकमा तेश्रो दिनसम्म २१ जना नेताहरुले आफ्नो धारणा राखीसकेका छन् । शनिवार भएको बैठकमा विभिन्न नेताले भारतद्वारा अतिक्रमित भूूमि फिर्ता ल्याउन राष्ट्रिय सहमतिका आधारमा वार्ता प्रक्रिया अगाडि बढाउन पार्टी तथा सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवासमा जारी नेकपाको स्थायी कमिटीमा शनिबार विभिन्न नेताले नेपाली भूूमि फिर्ता ल्याउन वार्ता गर्न सुझाव दिनुभएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाको स्थायी कमिटी बैठकमा नक्सा र सीमा विवादको कार्यसूचीमा छलफल भइरहेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार शनिबारको बैठकमा नेपालको सीमा समस्या र समाधानका बारेमा देवेन्द्र पौडेल, रघुवीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डलले धारणा राख्नुुभएको थियो । यसैगरी युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा। पुष्प कँडेल गरी २१ नेताले आ–आफ्ना विचार व्यक्त गर्नुभयो ।
उहाँहरूले नक्सा प्रकाशित गरेर संविधानको अनुसूचीमा समेत राखेको र राष्ट्रको सार्वभौमिकता, अखण्डता रक्षाका सम्बन्धमा सरकारले गरेको पहल कोसेढुङ्गा सावित भएको धारणा राख्नुभएको प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुुभयो ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गरी नक्सा अध्यावधि गरिसकेपछि वार्ता र छलफलको माध्यमबाट नेपालको भूमि भारतबाट फिर्ता ल्याउन सुुझाव दिनुुभयो । पार्टी र सरकारले नयाँ नक्सा बनाएर ऐतिहासिक काम गरेको बताउँदै उहाँले अबको काम भूमि फिर्ता र नेपाली भूमिबाट भारतीय सेना हटाउने कार्यसूची रहेको स्पष्ट पार्नुभयो ।
संसदीय दलका उपनेतासमेत रहनुभएका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले संविधान निर्माणभन्दा पनि नक्साका लागि संविधान संशोधन गरेर अग्रगामी काम गरेको बताउनुुभयो । नेम्वाङले संविधान जारी हुँदा विपक्षमा मत परेको थियो तर नक्साका लागि संविधान संशोधन हुँदा राष्ट्रिय सहमति बनेको हुनाले संविधान जारी हुँदाभन्दा पनि यो एक कदम अगाडि रहेको धारणा राख्नुभयो । त्यसका लागि पार्टी र सरकारले ठूलो मिहिनेत गर्नुुपरेको उहाँले स्पष्ट पार्नुुभयो
बैठकमा गणेश साहले वार्ता र छलफलबाट मात्र दुई देशको विवाद समाधान गर्न सकिने भएकाले यसका लागि दुवै देशले सकारात्मक पहल गर्नु आवश्यक रहेको बताउनुुभयो । अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि नेपाल–भारतको सीमा विवाद वार्ताको माध्यमबाट मात्र समाधान गर्न सकिने धारणा राख्नुभएको थियो ।
अर्का स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले कूटनीतिक माध्यमबाट भारतमाथि दबाब दिएर अतिक्रमित जग्गा फिर्ता लिनुपर्ने धारणा राख्नुभयो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि भारतसँगको अहिलेको सम्बन्धलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । एक स्थायी कमिटी सदस्यका अनुसार भुसालले भनेका थिए, यो ऐतिहासिक निर्णय हो । सीमाको विषयमा नेपालको एउटा ऐतिहासिक निर्णय हो । यसलाई गम्भीरता पूर्वक लिनुपर्छ । हल्काफुल्का ढंगले लिनु हुँदैन ।
कालापानी क्षेत्रको विषयमा नेपालमा पछिल्लो पटक विकसित घटनाक्रम राष्ट्रियताको मुद्दामा नयाँ परिघटना भएको पर्यटनमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईको थियो । उनले भनेका थिए, नक्साबारे लिइएको निर्णय राष्ट्रियताको मुद्दामा नेपालको नयाँ परिघटना हो । यसले नेपालको राजनीतिमा नयाँ तरिकाले प्रभाव पार्न सक्छ । त्यसकारण यसका लागि हामी गम्भीर हुनुपर्छ । पार्टीभित्रको एकता मजबुद हुनुपर्यो । जनताहरूको बीचको एकता बलियो पारेर भारतसँग वार्ता र कूटनीतिक माध्यमबाट विवाद हल गर्नुपर्यो ।
स्थायी कमिटी सदस्यद्वय मणि थापा र टोपबहादुर रायमाझीले भारतसँग वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा आफूहरू पनि सहमत भएपनि संघर्षको तयारी पनि गर्नुपर्ने धाराणा राखेका थिए ।
नेपालजस्ता साना राष्ट्रले ठूला राष्ट्रविरुद्ध युद्ध गर्न सक्दैनन् भन्ने मान्यता अन्त्य गर्नुपर्ने धारणा थापाको थियो । साना राष्ट्रले युद्ध गर्न सक्दैनन् भन्ने मार्क्सवादी कुरा होइन, दक्षिणपन्थी कुरा हो, उनले भने, साना राष्ट्रले युद्ध गर्न सक्छन् भन्ने उत्तर कोरिया, भियतनाम, इरान, प्यालेस्टाइनका उदाहरण हेर्दा यी साना राष्ट्र हुन् । तर पनि युद्ध गर्न सक्षम छन् । युद्ध गर्न सकिँदैन भन्ने कुरा दक्षिणपन्थी हो थापाले भनेका थिए ।
नेपालका छिमेकी भारत, चीन र पाकिस्तान परमाणुहतियार सम्पन्न राष्ट्र भएको र नेपालजस्ता साना राष्ट्रले पनि आणविक शक्ति सम्पन्न हुनसक्ने थापाले भनेका थिए । देशको सुरक्षाको निम्ती परमाणु हतियार उत्पादन गर्नुपर्ने उनको भनाइ थियो ।
भारतले पटकपटक वार्ताको प्रस्ताव अस्वीकार गरेको भन्दै आवश्यक परे भूमि फिर्ताका लागि लड्न तयार हुनुपर्ने धारणा नेता रायमाझीको थियो । उनको भनाइ उल्लेख गर्दै एक नेताले भने, पटकपटक वार्ताका लागि नेपालले पहल गर्दा पनि भारतले वास्ता नगरेको भन्दै भूमि फिर्ता ल्याउन आवश्यक परे लड्न तयार हुनुपर्ने उहाँको धारणा थियो ।
बैठकमा प्रस्तुत गरिएका एजेण्डाहरुमध्ये सरकार संचालन, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले खेलेको भूमिका, एमसीसीलगायतका एजेन्डामा छलफल गर्न बाँकी रहेको छ ।
बैठकको प्रारम्भमा प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएको थियो तर स्वास्थ्य असहज भएको जानकारी गराएर बैठकबाट निस्किनुभएको थियो । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णुप्रसाद पौडेलले बैठक सञ्चालन गर्नुभएको थियो । अर्को बैठक असार १६ गते बस्नेछ ।