सिस्ने हिमाल र सपनाहरू (कविता) – बलराम थापा

बलराम थापा
काठमाडौं

इतिहासको साक्षी किनारा
चूपचाप उभिरहेको सिस्ने हिमाल
त्यसैगरी लेखिरहेको छ
समयको दस्तावेज
जसरी पहिला- पहिला लेख्ने गर्थ्यो
*** *** ***
सदियौदेखि उसले हेरिरह्यो
मान्छे नामको उपद्रो
सदियौदेखी सुनिरह्यो
बेदका ऋचा र श्रेष्ठ बन्ने
उसका लालसा
कहिले जातको नाममा
कहिले धर्मका नाममा
मान्छे नामको मनभित्र
हुर्किरहेको पशुत्व देखेर
कहिले खित्का छाडेर हाँस्यो
कहिले भक्कानिएर रोयो
चूपचाप उभिरहेको सिस्ने हिमाल
*** *** ***
आफ्नो हिरण्यगर्भमा
जोगाएर राख्यो कामी बूढाको वीरता
आफ्नो बिदर्ण छातिमा
लुकाएर राख्यो
लली र कुमारीका आर्तनादहरू
एक्लै सुनिरह्यो लाखरखोलामा
मस्त बिष्टले बजाइरहेको इतिहासको धुन
कहिले खित्का छाडेर हाँस्यो
कहिले भक्कानिएर रोयो
चूपचाप उभिरहेको सिस्ने हिमाल
*** *** ***
मनुका मानसपूत्रहरू
उसका खण्डित र बिदर्ण छातिभित्र
निर्माण गरिरहेका छ्न
आफ्ना अमरावती
र, भत्काइरहेका छ्न
प्रेमका पवित्र मन्दिर
भत्किएका प्रेमका जिर्ण मन्दिरसँग उभिएर
प्रेमीका रगतले रक्ताम्य
भेरीका रङ्गिन छालहरू हेर्दै
कहिले भक्कानिएर रोयो
कहिले खित्का छाडेर हाँस्यो
चूपचाप उभिरहेको सिस्ने हिमाल
*** *** ***
प्रत्येक दिन घामको किरणसँगै
जन्मन्छ्न नयाँ सपनाहरू
जन्मन त रातमा पनि
जन्मन्छन सपनाहरू
तर, मखमली बिच्छ्यौनामा एक्लै निदाएर
जुन र तारासँग देखिएका
मृत्युमय सपनाहरू
घामको किरणसँगै हराएर जान्छ
बाच्दैन यो अर्को दिनसम्म
सपनाहरूको मृत्यु हेर्दै
कहिले भक्कानिएर रोयो
कहिले खित्का छाडेर हाँस्यो
चूपचाप उभिरहेको सिस्ने हिमाल
*** *** ***
सदियौदेखी अतितका कालो बर्को ओढेर
आफूलाई श्रेष्ठ ठान्ने `देवताका´ सन्तानहरूले
रातमा देखेका यस्ता मृत्युमय सपना
केवल `देवता ´ठान्नेहरूका लागि हुन्छ
ती सपनाहरू
मान्छेका लागि होइनन्
ती त मान्छे र देवता खडा गर्ने
बिभेदका पर्खालहरू हुन
मान्छेले आफूलाई अग्ल्याउन
ठड्याएको पर्खाल हेरेर
कहिले खित्का छाडेर हाँस्यो
कहिले भक्कानिएर रोयो
चूपचाप उभिएको सिस्ने हिमाल
*** *** ****
घामका किरणसँगै जन्मिएका सपनाहरू
जीवनका सरगम बजाउँदै
मुक्तिका धुनहरू सुसेल्दै
अनन्त – अनन्त बाँचिरहन्छ 1
यी दिनमा देखिने सपनाहरू
मान्छेका सपनाहरू हुन
मान्छेका प्रेमका सपनाहरू हुन
यसमा समभाव हाँसेको हुन्छ
श्रमसँग लहरिदै
सुन्दर जीवन बाँचेको हुन्छ
मान्छेका सुन्दर जीवनका लागि
मर्न तयार भएका
आफ्ना वहादुर सन्तानहरू सुम्सुम्याउँदै
कहिले भक्कानिएर रोयो
कहिले खित्का छाडेर हाँस्यो
चूपचाप उभिएको सिस्ने हिमाल
*** *** ****
यूगौदेखी चलिरहेको
मृत्यु र जीवनका लडाइँहरूमा
कहिलेकाहीँ हारेझै लाग्नसक्छ
तर, जीवन हार्दैन
अंशमा हात लागेका
यस्ता पराजयबाट
ठूलो विजयको तयारीका लागि
एक पछि अर्को गर्दै
फेरि अघि बढिरहन्छ्न असल मान्छेहरू
आनादिदेखी अन्त्यसम्म यसरी नै
चूपचाप उभिरहेको सिस्ने हिमाल
हिजो जसरी नै आज पनि
त्यसै गरि लेखिरहेको छ
समयको दस्तावेज
जसरी पहिला- पहिला लेख्ने गर्थ्यो ।

२४ जेठ , २०७७, दुवाकोट भक्तपुर