नेपालमा पहिलोपटक कोरोनाबाट एक महिलाको मृत्यु, विश्वभर ९६ नेपालीको ज्यान गयो
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा पहिलो पटक एक सुत्केरी महिलाले ज्यान गुमाएकी छिन् ।
सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया सावित्रा तिमल्सिना चालिसे नामकी महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । नेपालमा कोरोना प्रवेश गरेको ५ महिनापछि एक जनाको ज्यान गएको हो ।
उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।
तर घर फर्किएपछि उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ ।
बाह्रविसे स्वास्थ्य चौकीमा उपचार गराएको र गाह्रो हुन थालेपछि धुलिखेल अस्पताल रिफर गरिएको थियो । धुलिखेल अस्पताल ल्याएपछि उनको निधन भएको थियो । स्वास्थ्य मन्त्रालयले उनको बाटैमा निधन भएको बताएपनि उनका श्रीमानले विहिबार राती अस्पताल ल्याइपुर्याउँदा अलि गाह्रो भएपछि इमर्जेन्सीमा लगिएको र तत्कालै भ्यान्टीलेटरमा राखेर पम्पीङ्ग गर्दा उनको ज्यान गएको हो ।
विहिबारै ज्यान गएको भएतापनि उनको निधनको पुष्टि भने स्वास्थ्य मन्त्रालयले शनिवार रातीमात्रै प्रेस वक्तव्यमार्फत गरेको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।
टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विस्स्वृत विवरण लिइएको र कोभिड(१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड-१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’
सुत्केरी महिलामा कोभिडले नराम्ररी प्रभाव पार्यो र ग्रामीण ईलाकामा पर्याप्त चिकित्सकिय सुविधाको अभावमा उनको ज्यान गएको देखिन्छ । लक्षणविहिन कोरोना संक्रमण बढिरहेका बेला यो घटनाले थप त्रसित बनाएको छ । तर विश्वव्यापी महामारीको रूपमा फैलिएको यो कोरोनाबाट नेपाल अछुतो हुने सम्भावना थिएन र भएन पनि ।
संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०) साँझसम्मको हो ।
सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५ पुगेको छ ।
यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।
यसबाट बच्न र थप क्षति हुन नदिन राज्य र नागरिकले अत्यन्तै संयमित र जिम्मेवार हुनु जरुरी छ । यसको लागि-
-काठमाडौंको शिक्षण अस्पताललगायत सबै अस्पतालका स्वास्थ्यकर्मी र बिरामीहरूको अनिवार्य रूपमा पिसिआर विधिबाटै टेष्ट गर्ने,
-मेडिकल, खाद्यान्न पसल, अन्य अत्यावश्यक भनेर खोलिने पसल, यातायातका साधनका चालकहरू एम्बुलेन्स चालकको अनिवार्य रूपमा पिसिआर विधिबाटै टेष्ट गर्ने र रिपोर्ट सार्वजनीक गर्ने,
-नागरिकहरू घर भित्रै बस्ने, कोरोनाबाट बच्न सरकार र डब्लुएजओको निर्देशन र नियम पालना गर्ने ।
-नआत्तिने, आतंकित नबनाउने, आत्मबल बढाउने, नियमित शारीरिक व्यायाम गर्ने, स्वस्थ ताजा खानेकुरा खाने, फारोतिनो गर्ने ।