कोरोना अपडेट : काठमाडौंमा १, भक्तपुरमा २ संक्रमित, एकैदिन ८३ बढे, जम्मा २ सय १७

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, ३१ बैसाख

विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा तीब्र दरमा बढ्न थालेको छ । संक्रमणलाई रोकथाम गर्न लागु गरीएको लक डाउन ५० दिन कटिसक्दा कोरोना संक्रमणको दर दिन दिनै बढ्न थालेको हो ।

मंगलबार राती १० बजेसम्म काठमाडौंमा १ र भक्तपुरमा २ संक्रमित सँगै देशभर गरेर ८३ जना थप नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका साथै प्रदेश २ र प्रदेश ५ का विभिन्न जिल्लामा गरी मंगलबार एकै दिन थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । रेकर्ड अनुसार सबैभन्दा बढी पर्सामा ५७ जनामा संक्रमण देखिएको छ । यससहित मुलुकमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

त्यसैगरी मंगलबार रूपन्देहीमा ९ र कपिलवस्तुमा ८ संक्रमित पुष्टि भएका छन् । महोत्तरी, धनुषा र भक्तपुरमा २,२ तथा काठमाडौं, बारा र सर्लाहीमा १र१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत वैशाख २६ र २७ गते संकलित नमुना परीक्षण हुँदा पर्सामा थप ५७ जनामा कोभिड पोजिटिभ देखिएको हो । वीरगन्जमा यसअघि ३ जना भारतीय मुस्लिम धर्म प्रचारकसहित २५ जनामा कोरोना पुष्टि भइसकेको छ । गत वैशाख २४ मा वीरगन्ज महानगरपालिका– ३, छपकैयाका एकै परिवारका १७ जनामा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको थियो । बिहीबार, शुक्रबार र शनिबार गरी ८ सय १४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

३९ जनामध्ये पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वास्थित श्री मंगल मावि विद्यालयको क्वारेन्टाइनबाट स्वाब संकलन गरिएका १४ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरूसहित ४२ जना गत वैशाख १३ मा बागलुङबाट बस रिजर्भ गरी आएका आएका थिए । गाउँपालिका अध्यक्ष मनोज साहका अनुसार उनीहरू बागलुङको हटियामा काम गर्न गएका थिए । बागलुङबाट आएको थाहा पाएपछि उनीहरूलाई बसबाट सिधै मंगल माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष साहले बताए । १४ जना संक्रमितमध्ये धोबनी गाउँपालिकाका २ जना, छिपहरमाईका ११ र १ जना भारतीय नागरिक छन् ।

शनिबार परीक्षणका लागि दिएको स्वाबको नतिजा मंगलबार सार्वजनिक हुँदा धेरैमा संक्रमण फैलिएको आशंका गरिएको छ । नारायणी अस्पतालका चिकित्सकका अनुसार वीरगन्जमा समुदायस्तरमै कोरोना फैलिसकेको छ । संक्रमितहरू वीरगन्जको वडा २, ३, ४, १६, १७ र १८ वडाका छन् ।

बाराको विश्रापुर गाउँपालिका–४, बलिरामपुरका १४ वर्षीय किशोरमा पनि वीरगन्जबाटै संक्रमण भएको खुलेको छ । वीरगन्ज–१६ इनर्वामा उनले खाना पकाउने ग्यास पसल सञ्चालन गर्दै आएका थिए । बलिरामपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जगदीश यादवका अनुसार बलिरामपुरबाट दुई किमिको दूरीमा रहेको पसलमा उनी ९संक्रमित किशोर० दिनहुँ घरबाट आउजाउ गरिरहेका थिए ।

वीरगन्ज–१६ का एक ५५ वर्षीयमा कोरोना पुष्टि भएपछि किशोर र उनका बुबाको कन्ट्याक्ट ट्रेसिङका आधारमा ती किशोरको पनि परीक्षण गरिएको थियो । परीक्षणमा किशोरका बुबाको नेगेटिभ र किशोरको पोजिटिभ रिपोर्ट देखिएको यादवले जानकारी दिए । प्रहरीले संक्रमित किशोरको बसोबास रहेको टोललाई सिल गरेको छ । जिल्लामा योसँगै संक्रमितको संख्या ३ पुगेको छ ।