संसदमा बाबुरामले भने- ‘प्रधानमन्त्री ज्यू राजीनामा दिनुस् !’

मूलखबर संवाददाता
काठमाडौं, २६ बैसाख ।

पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री के पी शर्मा ओलीलाई राजीनामा गरेर आराम गर्न आग्रह गरेका छन् ।

आजबाट शुरु भएको संघिय संसदको बजेट अधिवेशनमा संवोधन गर्दै उनले प्रधानमन्त्री के पी ओलीले प्रधानमन्त्रीको रुपमा नाम लेखाउने बाहेक अरु गर्न नसकेको आरोप लगाउँदै स्वास्थ्यले जर्जर भएको कारण राजीनामा गरेर आराम गर्न सुझाव दिएका हुन् ।

डा. भट्टराईले प्रधानमन्त्रीले मध्यरातमा अरुको पार्टी फुटाउन सांसद अपहरण गर्न लगाउने, पार्टी फुटाउन अनावश्यक अध्यादेश ल्याउने, एकलौटी रुपले सत्ता कब्जा गर्न खोज्ने आदि गरेको भन्दै उनको आलोचना गरेका हुन् ।

उनले सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथामको लागि लकडाउन र विदेशमा रहेका नेपालीलाई रोक्ने बाहेक अरु काम गर्न नसकेको आरोप पनि लगाए ।

त्यसैगरी उनले सरकारले कोरोनाको परिक्षण ज्यादै कम गरेको र तयारी नै गर्न नसकेको बताउँदै त्यसको लागि सरकार गम्भीर नभएको बताए । उनले इतिहासमै विश्व पुरै एउटा रोगको महामारीबाट त्रसित र आक्रान्त भएको बताउँदै यस्तो अवस्थामा राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । त्यसको लागि सत्तारुढ दल नेकपालाई ओलीको विकल्पमा सक्षम नेतालाई सरकारको नेतृत्वमा ल्याउन सुझाव पनि दिए ।