शहीद दिनेशको सम्झनामा जिवनसंगीनीको मार्मिक पत्र ‘तिमी अझै आउँछौ की झैं लाग्छ’
आत्मीय जीवन साथी क. दिनेश,
मुटुभरी माया अनि हरपल मिठो सम्झना ल !
तिमी र म छुट्टिएको पनि १५ वर्ष भयो त्यहाँ तिमीलाई सुख, शान्ति र आरामै होला भनि विश्वासमा बाँच्नुभन्दा अर्को विकल्प छैन म सँग । म पनि दुःख र सुखलाई साक्षी राखेर घायल बनी बाँचीरहेको छु ।
मलाई सम्झना छ २०६२ साल चैतको दोश्रो हप्ताको अन्तिम दिन रामेछापको थापागाउँबाट दरीलो हात मिलाउँदै तिमी र म छुटिँदा तिमी भन्दै थियौ ‘हामी छिटै भेट हुन्छौं र म चिठी पठाउँछु सबै जानकारी लेखेर’ भनेको कुरा अधुरो नै छ ।
आज भोली तिम्रो बचनको निकै याद आइरहन्छ, तिमी आइहाल्छौ की ! तिम्रो न्यानो हातले मिठो शव्दमा क.प्रतिमा भनेर संवोधनमा लेखेको चिठी कतै कसैको साथ र हातमा खुसी बनेर आउँछ की झैं लाग्छ । मेरो पर्खाइ लामो भइसकेको छ । तिम्रो चिठी पनि आएको छैन, तिमीले चिठीमा कति साहसी, वलिदानी, उत्साही शव्द लेख्थ्यौ म सम्झिरहेछु । त्यही विगतलाई सम्झेर वर्तमानमा जिउनुपर्ने बाध्यता छ ।
तिम्रो महान् वलिदानीले नेपाल संघिय गणतन्त्रमा रुपान्तरण भएको छ । सबै वर्ग जाती, क्षेत्र, लिङ्ग र पिछडिएका वर्गले अधिकार पाएका छन् । जनताको हातले संविधान लेखिएको छ । तर कार्यान्वयन हुन अझै संघर्ष गर्न आवश्यक छ । देशले राजनीतिक परिवर्तन पाएको छ, त्यसमा हाम्रो त्याग तपस्या र वलिदानको मूल्य छ । तर परिवर्तनसँगै हिजोका सपनाहरु वास्तविक रुपमा पुरा हुन सकेका छैनन् ।
तिमी र म छुटिएपछि मेरो यात्रा एक्लो र कठीन बनिरहेको छ । तिम्रो महान् आदर्श क्षितिजमाथि अजम्बरी बनिरहेको छ । म तिमी विनाको मरुभुमिमा एक्लो र असफल यात्री झैं छटपटाईरहेकी छु । सायद हामी सँगै भएको भए कति सजिलो हुन्थ्यो जिवन यात्रामा । जीवन भनेको दुःख सुखको मिलन हो । सुखमा पनि आफ्नो मान्छेको अभाव खट्किँदो रहेछ अनि दुःखमा पनि । तर पनि जीवनलाई सहज बनाएरै जीउने कोशिष गरिरहेको छु ।
हाम्रो भौतिक विछोडले भौतिक रुपमा आउने हरेक समस्यासँग संघर्ष गर्न निकै गाह्रो हुने रहेछ । यस्तै अनुभुति सँगालेको छु प्रीय दिनेश ! कति पटक लामो समयसम्म बिरामी परेर थलिँदा तिमी भएको भए सबै दुखाई कम हुन्थ्यो होला जस्तै लाग्छ । उठ्न नसक्दा उठाउँथ्यौ होला जस्तो लाग्छ । खान नसक्दा खाना खुवाउँथ्यौ होला, ज्वरो आउँदा निधार छामेर कति सुम्सुम्याउँथ्यौ होला जस्तो, रातभरी निदाउन नसक्दा निदाउने प्रेरणा दिन्थ्यौ होला जस्तो । तिमीले विर्सेका छैनौ होला संयोगले दार्जिलिङ घुम्न जाने बेला रेलको यात्रामा मलाई गाह्रो हुँदा तिमी कति दुःखी हुँदै काखमा सुताएर सुम्सुम्याउँदै माया गरेका थियौ, त्यो याद ताजै छ प्रिय दिनेश !
आज भोली तिम्रो बचनको निकै याद आइरहन्छ, तिमी आइहाल्छौ की ! तिम्रो न्यानो हातले मिठो शव्दमा क.प्रतिमा भनेर संवोधनमा लेखेको चिठी कतै कसैको साथ र हातमा खुसी बनेर आउँछ की झैं लाग्छ । मेरो पर्खाइ लामो भइसकेको छ । तिम्रो चिठी पनि आएको छैन, तिमीले चिठीमा कति साहसी, वलिदानी, उत्साही शव्द लेख्थ्यौ म सम्झिरहेछु । त्यही विगतलाई सम्झेर वर्तमानमा जिउनुपर्ने बाध्यता छ ।
‘हाम्रो सम्वन्ध नमूना बनाउनुपर्छ, मेरो कारणले तिमीलाई कहिल्यै दुःख दिने छैन’ भनेको बचन आज भोली निकै ‘मिस’ गरिरहेको छु । तिमीजस्तो समझदार मिहिनेती, लगनशील र परिपक्वताका धनी जीवनसाथी मेरो जीवनमा आउनु नै आफूलाई भाग्यमानी सम्झन्थेँ । तिम्रो र मेरो पहिलो भेटमा के भयो त्यो त थाहा छैन मलाई, तर पछिको हाम्रो भेटघाटमा एक अर्काको बारे चासो र ख्याल गर्ने र भावनात्मक रुपमा नजिकिएको आभाष हुन्थ्यो ।
त्यसबेला नै लाग्थ्यो तिमीमा निकै ठूलो क्षमता अन्तरनिहीत छ जसको प्रतिविम्वन मैले ती भेटमा पाउँथेँ । तिम्रो आदर्श र लगावले आन्दोलनमा ठूलो उपलव्धी हासिल भयो । त्यसैगरी तिम्रो भौतिक जिवनको क्षती हुँदा अर्थात तिम्रो वलिदानले एक कुशल कमाण्डर र क्षमतावान नेतृत्व गुमेको महशुस गर्यो सिंगो राष्ट्रले । तिमी र तिमी जस्तै हजारौं योद्धाहरुको रगतबाट प्राप्त भएको परिवर्तनलाई आफ्ना आफन्त, छोरा छोरी श्रीमान, श्रीमती र अन्य नाताले गौरवको रुपमा लिइरहेका छन् भने केही वर्गले आफ्नो पेवा सम्झन्छन् । त्यही अभियान र यो परिवर्तन सँग नै सुख दुःख र पीडा आवेग साटासाट गर्ने अवसर पाएको छौं ।
क. दिनेश आजभोली तिब्र गतिमा तिम्रो अभाव आवश्यकता र जीवनमा खाँचो महशुस भइरहन्छ । सँगै बस्ने, खाने, सँगै घुम्ने, सँगै हातेमालो गरेर एक अर्काको सहारा बन्ने कति इच्छाहरु अधुरै रह्यो, अरुको उज्जवल भविष्य निर्माण गर्ने अभिलाषा बोकेका हामीहरुका लागि न कहिल्यै व्यक्तिगत जिवनको बारे योजना बनाउन सम्भव थियो न त नातागोता वंशजको कल्पना गर्न नै । मात्र अरुको खुशीका लागि आफ्नो खुशीको वलिदान गरेका थियौं । हामीजस्तै सयौं जोडीहरु हिजो आज विविध समस्यामा परेका छन् । लाउने, खाने, हाँस्ने, हिँड्ने, बोल्ने, जस्ता विषयमा समेत स्वतन्त्रता छैन । हाम्रो प्रत्येक पाइलामा सिआइडि लागिरहन्छन् । खै तिमी सँगै भएको भए कसैको जरुरी पर्दैनथ्यो होला । यो समाजले पुरुष अर्थात तिमी साथ हुँदा मात्र महिला अथवा म सुरक्षित हुने कुरामा विश्वास गर्दछ । म एक्लै स्वस्थ रुपमा हाँसेको दुनियाँलाई डाहा हुने रहेछ । त्यही भएर तिमी र म सँगै भएको भए बारबार परीक्षा र स्पष्टिकरण दिइराख्नुपर्ने थिएन होला । समाज परिवर्तन गर्ने सपना बोकेका बीर योद्धाहरुलाई आज गाह्रो छ बाँच्न र टिक्न । सामान्य जिवन विताउने महिलाको जिवन कति कष्टकर छ यो सोँच्न र कल्पना गर्न पनि सकिन्न । संघर्षशील यात्रामा कति घुम्ती, मोड, उकाली ओराली, पाखा, पखेरी छिचोल्नुपर्ने हो तयार हुनु आवश्यक छ । यसैले त बचाएको छ ।
म तिमी विनाको मरुभुमिमा एक्लो र असफल यात्री झैं छटपटाईरहेकी छु । सायद हामी सँगै भएको भए कति सजिलो हुन्थ्यो जिवन यात्रामा ।
यतिबेला लामो समयको अस्वस्थता र बेड रेष्ट गर्दा तिमीसँग भलाकुसारी गर्ने, सुख दुःख साँट्ने, ‘जीवन जिउन गाह्रो हुन्छ तर पनि सहज र स्वभाविक ठान्नु पर्दछ, ठूला ठूला आपत विपतमा पनि विचलित हुनुहुन्न’ भन्ने तिम्रो गहकीलो भनाई पल पल याद गर्दै साहसी बन्ने प्रयत्न गरिरहेको छु ।
तिम्रो कसम ! अन्तिमसम्म तिमीले सिकाएका थियौ नी ‘जस्तोसुकै परिस्थितिमा पनि फिट खानुपर्छ’ त्यसैलाई सम्झँदै र आत्मसात गर्दै म अगाडि वढिरहेको छु, बाँचिरहेकी छु, तिमीले साँचेका सपनालाई भुइँमा भर्न नदिन प्रतिबद्ध छु । हरेक दिन प्रत्येक पल तिम्रो त्यो महान् आदर्शलाई सम्झीएर र भित्तामा टाँसिएको तिम्रो तस्वीर हेरेर यति गम्भीर बन्छु की आफैंलाई विर्सन्छु ।
अन्तमा तिमीसँगै बिछोड भएका र जनयुद्धका क्रममा हामीबाट साथ छुटेका सबै महान् शहीदहरुप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु र जनयुद्धमा सहभागि सम्पूर्ण मित्र र सहयोद्धाहरुमा मिठो सम्झनासहित बीट मार्न चाहन्छु ।
ल त कति गन्थन गरेपनि पुग्दैन बाई ! मिस यु !
उही तिम्रो
प्रतिमा (भगवती प्रधान)
दोलखा, हाल ललितपुर