बुद्व जयन्ती र उभाैली पर्वमा प्रचण्डकाे शुभकामना : `बुद्वका उपदेश लागू गराैं´

मूलखबर संवाददाता
काठमाडौं

नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्वका उपदेश जीवन व्यवहारमा लागू गर्न अाग्रह गरेका छन् ।

२५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस र उभाैलि पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले बुद्वका उपदेश काेराेना महामारीबाट वचन उपयोगी हुने बताएका हुन् ।

 शुभकामनाकाे पुर्ण पाठ- 
२५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनसमुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्व मै लोकप्रिय छन् ।
बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं ।
सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता हो । यही विशेषताले नै अहिले संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने ताकत र उर्जा पैदा हुन सक्छन् । यस विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने मैले विश्वास लिएको छु ।
त्यसैगरी आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ।
२५ बैशाख, २०७७
……………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष