कोरोना : युरोपमा नियन्त्रणतिर अमेरिकामा उत्कर्षमा, एशीयामा फैलँदो

मूलखबर संवाददाता
काठमाडौं, २० बैसाख ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको महामारी रोग कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट आक्रान्त युरोप विस्तारै नियन्त्रणतिर गइरहेको छ भने अमेरिकामा उत्कर्षमा पुगेको छ । चिनको वुहान शहरबाट डिसेम्बर अन्त्यमा शुरु भएको मानिएको यस भाइरसको संक्रमणबाट आफू पूर्ण रपले मुक्र भएको चिनले घोषणा गरिसकेको छ भने यसको संक्रमण अति जनघनत्व भएको दक्षीण एशीयाली देश र विशेष गरी भारतमा तिब्रतामा फैलिरहेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको घमण्डका कारण कोरोनाको महामारी फैलिएको निश्कर्ष विश्लेषकहरुले निकालेका छन् । समयमै लक डाउन नगर्ने, माक्स लगाउन अनिवार्य नगर्ने, गलत औषधी प्रयोग गर्न चिकित्सकलाई निर्देशन दिने र चिनिया भाइरस भन्दै अफवाह फैलाएका कारणले अमेरिकामा धेरै क्षती भएको निश्कर्ष उनीहरुको हो ।

युरोपको सबैभन्दा धेरै क्षती बेहोरेको इटालीमा नयाँ संक्रमण करिब रोकीएको छ भने लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजान लागिएको छ । त्यसैगरी अन्य युरोपीय मुलुकहरुमा पनि नयाँ संक्रमणको दर घटेको र मृत्युदर पनि धेरै कम हुँदै गएको निश्कर्षसहित लकडाउनलाई आंशिक गर्ने तयारी गरिएको छ ।

विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या ३४ लाख नाघेको छ। सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्। अमेरिकामा मात्र अहिलेसम्म संक्रमितको संख्या झन्डै ११ लाख नाघेको छ। त्यहाँ करीब ६५ हजारको मृत्यु भइसकेको छ। करीब डेढ लाख जना निको भएका छन्।

विश्वमा कोरोनाभाइरसबाट निको हुनेको संख्या पनि करीब साढे १० लाख पुगेको छ। सबैभन्दा बढी निको हुने अमेरिकामा नै छन्। त्यसपछि स्पेनमा एक लाख ४० हजार निको भएका छन्। त्यहाँ कूल संक्रमित करीब दुई लाख ४० हजार छन्।

निको भएका र मृत्युु भएकाबाहेक विश्वमा अहिले सक्रिय संक्रमितको संख्या करीब २० लाख ३३ हजार छ। तीमध्ये ५१ हजार गम्भीर बिरामी छन्। ९७ प्रतिशत भने मध्यमप्रकारका बिरामी हुन्।