नेकपा सचिवालय बैठक आज पनि : प्रचण्ड माधवलाई पछि नहट्न स्थायी समिति सदस्यहरुको दबाब

मूलखबर संवाददाता
काठमाडौं, २० बैसाख ।

सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद हल गर्न आयोजना गरिएको सचिवालय बैठक आज फेरी बस्दैछ । बैसाख १७ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको माग अधिकांश सदस्यले गरेपछि ओलीले कोरोना सकिएपछि बामदेवलाई प्रधानमन्त्री दिने र माधव नेपाललाई तेश्रो अध्यक्ष बनाउने जवाफ दिएका थिए । उनको सो जवाफ पछि विवादले नयाँ रुप धारण गरेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

प्रधानमन्त्रीको जवाफपछि ओली पक्ष, प्रचण्ड माधव पक्ष र बामदेवको भिन्दै परामर्शहरु भएका छन् । बामदेवले आफूलाई प्रधानमन्त्री बनाउने ओलीको इमान्दार कुरा हो की होइन र कति सम्भव छ भन्ने कोणबाट छलफल गरेका छन् भने प्रचण्ड माधव पक्षले भने ओलीले आजको बैठकमा राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने निश्कर्ष निकालेका छन् ।

शुक्रबार अध्यक्ष प्रचण्ड र नेता नेपालसँग स्थायी समिति सदस्यहरुले ३ घण्टा लामो छलफल गरेका थिए । माधव नेपालको निवासमा भएको बैठकमा चारवटा विषयमा गम्भीर छलफल भएको थियो । जसमा सरकारले अध्यादेश ल्याएर पार्टीमा विभाजनको मनोविज्ञान सिर्जना गरको भन्दै उक्त मनोविज्ञान समाप्त गरेर पार्टीलाई कसरी एकतावद्ध बनाएर अगाडि लैजाने भन्ने विषयमा छलफल भएको छ ।
स्थायी समिति सदस्यहरुले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनमा दिनुपर्ने अडान बाट कत्तिपनि पछाडि नहट्न र तत्काल स्थायी समिति बैठक बोलाउनका लागि दबाब दिएका छन् ।

त्यस्तै ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रोे वरियताको अध्यक्ष बनाउने प्रस्तावका विषयमा विभिन्न कोणबाट पनि छलफल भएको छ ।

स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष भएको नाताले अरुले गुटगत भेला गरेपनि नगर्नु भन्नुपर्नेमा उनले आफै बालुवाटारमा सांसदहरुको गुटगत भेला गर्ने, राज्यशक्तिको दुरुपयोग गर्ने र पार्टीका सांसदहरुलाई धम्क्याउने जस्ता काम गरेको निष्कर्ष समेत निकालेका छन् ।

त्यस्तै ओली पक्षले हस्ताक्षर गर्न थालेपछि इतर पक्षले पनि हस्ताक्षर थाल्नुपर्ने हो भनेर प्रश्न गरेका थिए ।

त्यस्तै २० जना सथायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेपनि अध्यक्षले चासो नदेखाएकोमा आपत्ति जनाउँदै आफ्ना मागका सम्बन्धमा सचिवालय सदस्य र कार्यकारी अध्यक्षबाट शनिबारको सचिवालय बैठकमा गम्भीर रुपमा राखियोस् भनेर सुझाव दिएका छन् ।

उनीहरुले पार्टीको विधि र प्रणालीप्रति ध्यानाकर्षण गराउन समेत सुझाव दिएका छन् । कार्यकारी अध्यक्षले आजै बालुवाटारमा प्रधानमन्त्री समेत रहेका ओलीसँग कुराकानी भएपनि सकारात्मक नभएको भनेर जानकारी गराएका थिए ।

यसरी दवाव दिनेमा गत साता स्थायी समिति बैठकको माग गर्दै लिखित पत्र बुझाएका २० सदस्यलगायत अन्य पनि थपिएको उनीहरुले बताएका छन् ।

शनिबारको बैठकमा प्रधानमन्त्री पहिलाको बचनमा कायम रहन्छन् या रहँदैनन् र रहेको खण्डमा कानुनी तथा प्रकृयागत कुरा के हुन्छ भन्नेबारेमा पनि छलफल भएको छ । ओलीले आजको बैठकमा राजीनमा गरेर मार्गप्रशस्त गरेमात्रै विश्वास गर्न सकिने निश्कर्ष बैठकको छ ।