नेकपा विवादले निराशा बढायाे, राष्ट्रिय एकता अपरिहार्य छ : महरा

मूलखबर संवाददाता
काठमाडौं

पुर्व सभामुख कृष्णबहादुर महराले अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको बताएका छन् ।

पूर्वसभामुख तथा दाङका प्रतिनिधि सभा सदस्य समेत रहेका पुर्व  माअाेवादी नेता  महराले एक प्रेस वक्तव्य जारी गर्दै सत्तारूढ दल नेेेेकपामा देखिएको विवाद पनि सहमतिमै हल गर्न अपील गरेका हुन् ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको भन्दै महराले हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला भएकाले विवाद र विग्रह नगरी एकताबद्व हुन अपील गरेका हुन् ।

उनले मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेकाेे पनि बताएका छन् ।

उनकाे प्रेस वक्तव्य –

महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको छ। कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ। देश अहिले लकडाउनको अवस्थामा छ। अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ।

अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो। मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।

१७ बैशाख, २०७७

कृष्णबहादुर महरा
पूर्वसभामुख
तथा प्रतिनिधि सभा सदस्य, दाङ