केपी ओलीको सरकार सर्वसत्तावादी भन्दै संघर्ष गर्ने विपक्षी दलहरुको सहमति

मूलखबर संवाददाता
काठमाडौं, १५ बैसाख ।

अध्यादेश प्रकरणबाट विच्किएका प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका विपक्षी ३ पार्टीहरुले के पी ओली नेतृत्वको सरकारलाई सर्वसत्तावादी भएको आरोप लगाउँदै विरोधमा उत्रने सहमति गरेका छन् ।

तीन विपक्षी दलले आज संयुक्त बैठक गरी सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा नवगठित जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका हुन्।
बैठकमा सरकारकै संलग्नतामा सांसद डा सुरेन्द्र यादवको अपहरण भएको उनीहरुले दाबी गरेका छन् ।

बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अपराधि कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’

कांग्रेस, जसपा र राप्रपाले लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन माग गरेका छन् । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन टेष्टमा असाधारण ढिलासुस्ती भएको भन्दै तीव्रता दिनसमेत माग गरेका छन् ।