लकडाउन २५ बैसाखसम्म थप्ने सरकारको निर्णय, हवाई उडान बैसाख ३१ सम्म बन्द

मूलखबर संवाददाता
काठमाडौं

विश्वव्यापी महमारीको रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनलाई सरकारले १० दिन थप्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक र बढ्दो संक्रमणको अवस्थालाई मध्यनजर गरेर १० दिन लम्बाएको सरकारका प्रबक्ता तथा अर्थमन्त्री एवम् सुचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यस अघि सरकारले घोषणा गरेको लकडाउनको समय भोली सोमबार सकिँदैछ । १० दिनको समय थप गर्दा २५ वैशाषसम्म लकडाउन जारी रहनेछ ।
लकडाउनका कारण देशका सम्पूर्ण यातायातका साधन, शैक्षिक संस्था, व्यापारिक प्रतिस्ठान, कल कारकाखाना र आर्थिक गतिविधि गत चैत ११ गतेदेखि ठप्प छन् । जनजीवन कष्टकर बन्दै गएको छ भने लकडाउनको ३३ औ दिसम्म आइपुग्दा राजधानी काठमाडौंबाट करिब २० लाख मानिसहरु आ आफ्ना घरतिर गइसकेका छन् ।
आजसम्म ५० हजार भन्दा वढिको कोरोना परिक्षण गर्दा ५२ जना संक्रमित पुष्टि भएका छन् भने ती मध्ये १४ जना उपचारपछि निको भएर घर फर्कीसकेका छन् ।

शनिवार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले एक हप्ताका लागि लकडाउनको अवधि थप्ने  निर्णय गरेको थियो । लकडाउनले संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याएको निष्कर्ष निकाल्दै परिस्थितिलाई मध्यनजर गरेर समयावधि थप गर्नु उच्चस्तरीय समितिले सिफारिस गरेको थियो ।