कुरा नमिलेपछि सबका सपना चक्नाचुर, के थिए सपना ?

मूलखबर संवाददाता
काठमाडौं, १३ बैसाख

सांसद डा. सुरेन्द्र यादवसहितको मधेसी  टोलीलाई काठमाडौं ल्याउने र बिहीबार दिउँसोसम्ममा समाजवादी पार्टी फुटाई छाड्ने योजनालाई साकार तुल्याएमा सहभागी सबैले चाहनाबमोजिमको पुरस्कार पाउँदै थिए । स्रोतकाअनुसार उक्त योजनालाई टुंगोमा पुर्याएवापत निकट भविष्यमा महेश बस्नेत, किसान श्रेष्ठ र यादव स्वयमले मन्त्री पाउने लगभग निश्चित थियो । पूर्व प्रहरी महानिरीक्षकले पनि अख्तियारको रिक्त सदस्यको आश गरेका थिए ।

गोकुल बाँस्कोटा अप्रत्यासित तवरले पदमुक्त भएपछि रिक्त सञ्चार तथा  सूचना प्रविधि मन्त्रीमा बस्नेतको आउने सम्भावना रहेको उच्चस्रोत बताउँछ । दुई वर्षअघि नै कुनै  मन्त्रालयको जिम्मेवारी पाउने आशमा रहेका बस्नेतले केही महिनादेखि बालुवाटारबाट टाढा हुँदै गएको संकेत दिएका थिए । बस्नेतले खुट्टा उचलिसकेको हो वा असन्तुष्टि मात्र पोखेको हो परीक्षण गर्ने निश्कर्षमा प्रधानमन्त्री स्वयम् पुगेको बताइन्छ  ।

यसैबीच नाटकीय ढंगले बाँस्कोटाको बहिर्गमनपछि बस्नेतलाई जाँच्न राम्रै जिम्मेवारी दिने निर्णय गरियो । पहिले समाजवादीका असन्तुष्ट सांसदहरुसँग वार्ता गर्ने जिम्मेवारी मन्त्री बाँस्कोटालाई दिइएको थियो । तर,परिस्थिति बदलिएपछि त्यो जिम्मेवारी बस्नेततिर गयो । यसपछि सञ्चारमन्त्रीमा बस्नेत आउनेमा किचन क्याबिनेटका सदस्यहरु पनि ढुक्क भए । त्यसैको तयारीस्वरुप उक्त मन्त्रालयको जिम्मेवारी लामो समयदेखि अर्थमन्त्रीलाई दिइएको छ ।

उता,अर्का सांसद किसान श्रेष्ठलाई पनि राज्यमन्त्रीको लागि ढुक्क भएर दिइएको काम फत्ते गर्न भनिएको थियो । पार्टी फुटाएमा पुनः स्वास्थ्य राज्यमन्त्री पाउने आश्वासन यादवले पनि भेटेका थिए। तर, यादवले पुनः राज्यमन्त्री नखाने,क्याबिनेट मन्त्री चाहिने चट्टानी अडानमा सारा योजना छताछुल्ल पारिदिए ।

मन्त्री बन्ने पक्का भएपछि बस्नेत र श्रेष्ठ यादवलाई लकडाउनको समयमा गुपचुप काठमाडौं भित्र्याउने उपयुक्त पात्रको खोजीमा लागे । यसको लागि पूर्व आईजीपी सर्वेन्द्र खनाललाई सबै दृष्टिकोणले उपयुक्त ठाने र प्रस्ताव राखे । आइजी हुनै लागेका पुष्कर कार्कीलाई अन्तिममा छेकारो हालेका खनालका निम्ति उक्त प्रस्ताव ‘बम्पर उपहार’ थियो । बैशाखको पहिलो सातातिर बस्नेत र श्रेष्ठसँग खनालले काम फत्ते गर्न कुनै गाह्रो नभएको बताएको श्रोतको दावी छ । कुरैकुरामा उनले आफूलाई अख्तियारको आयुक्त भए पुग्ने प्रस्ताव राखेका थिए । अख्तियारमा आफ्नो नियुक्ती हुने सुईंको खनालले निकटका नातेदारहरुलाई समेत केही दिनअघि दिएका समाचार जनअास्था डट कममा छ।