अराजकतावादी र नोकरशाही प्रवृतिविरुद्ध एकतावद्ध होऔं : झलनाथ खनाल

मूलखबर संवाददाता
काठमाडौं, १० बैसाख ।

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्रको नोकरशाही प्रवृत्तिविरुद्ध एकतावद्ध भएर लड्न अपील गरेका छन् ।

नेकपा स्थापना दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दे नेता खनालले पार्टीलाई बैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धति संगत ढंगले अघि बढाएर मात्र प्राप्त उपलव्धीलार्य रक्षा गर्दे समाजवादमा पुग्न सकिने बताएका हुन् ।
केही दिन अघिमात्रै पार्टीका अध्यष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले पाटी विभाजन गर्न सहज हुनेगरी एकलौटी ढंगले अध्यादेश ल्याएको विषयमा पार्टीमा तिब्र विवाद रहेको छ । खनालले सचिवालय बैठकमा पनि प्रधानमन्त्रीको उक्त कदमको कडा आलोचना गरेका थिए । उनले ओलीको उक्त कदमलाई नोकरशाही शैलीको संज्ञा दिएका थिए ।

खनालले जारी गरेको सन्देशको पूर्ण पाठ-

आज २२ अप्रील २०२० (२०७७ बैशाख १० गते) एक ऐतिहासिक दिन, नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवस । यो ऐतिहासिक क्षणमा म नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल लगायत अन्य संस्थापक नेताहरुलाई उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छु । साथै कम्युनिष्ट आन्दोलनलाई यो उचाइमा ल्याईपुर्याउन जीवन आहुति गर्ने सम्पूर्ण महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । यो सुखद घडीमा लामो राजनीतिक यात्राका क्रममा पार्टीमा योगदान पुर्याउनु हुने सम्पूर्ण नेता कार्यकर्ता शुभेच्छुक र जनसमुदाय प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
यति वेला हामीहरु पार्टी स्थापनाको ७१ औं बर्षबाट अघि बढि रहेका छौं । यो अवधिमा हामीले करिव ५८ बर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गरेका छौं । १० बर्ष लगाएर हामीले देशको संविधान निर्माण गरेका छौं । संविधान बमोजिम हामीले नेपाल कम्युनिष्ट पार्टी को नेतृत्वमा प्रथम निर्वाचन मार्पmत देशमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारहरुको गठन गरेका छौं । यसै बिचमा नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठुला पार्टीहरुलाई एकिकृत गरेका छौं । नेपाल कम्युनिष्ट पार्टीलाई सबभन्दा ठुलो पार्टीका रुपमा स्थापित गरेका छौं र यो पार्टीको नेतृत्वमा समाजवादको लक्ष्यतिर उन्मुख भएर अघि बढि रहेका छौं । यी नेपाली कम्युनिष्ट आन्दोलनका असाधारण उपलव्धीहरु हुन् । यी उपलब्धीहरु मार्पmत राजनीतिक स्थीरता कायम भएको छ र मुलुक बिकास निर्माण, प्रगति र समृद्धि तिर अघि बढी रहेको छ ।

यी सबै कुरालाई अघि बढाउने मुख्य नेतृत्व केन्द्र भनेको हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी नै हो । यो पार्टीलाई बैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धति संगत ढंगले अघि बढाएर मात्र उपरोक्त उपलव्धीहरुलाई निरन्तरता दिन सकिन्छ । तर पार्टीमा अराजकताबादी र नोकरशाही प्रवृति बढ्न थाले र मुलुकलाई अस्थिरता तिर उन्मुख बनाउने राजनीतिक प्रबृत्ति बढ्न थाले भने हामीले प्राप्त गरेका उपलव्धीहरु नै गुम्ने समेत खतरा पैदा हुन्छ । यति बेला हामीले कुनै पनि प्रकारका अस्थिरताबादी प्रबृत्तिका बिरुद्ध एकताबद्ध हुदैं कोरोना भाईरसको महामारीका बिरुद्ध संघर्ष गर्नै पर्ने आवश्यकता छ । त्यसरी अगाढी बढेर मात्र कोरोनाका महामारी बिरुद्ध सफलता पूर्वक संघर्ष गर्न सक्छौं र राष्ट्रलाई तथा मानव जातिलाई बचाउन सक्छौं ।

त्यसैले कमरेडहरु पार्टी स्थापना दिवसको उपलक्ष्यमा हामीहरु अझ बढी एकताबद्ध बनौ, ७१ बर्षका उपलव्धीहरुको संरक्षण गरौ, पार्टी एकिकरणका कामलाई दृढता पूर्वक टुंगो लगाऔं, पार्टीका कार्य दिशा नीति र सिद्धान्तका आधारमा पार्टी कामलाई विस्तार गरौं, जनवर्गीय संगठनको एकता र सुदृढीकरणलाई गहिरो बनाऔं र कुनै पनि प्रकारका अस्थिरताबादी प्रबृतिका बिरुद्ध सिंगो पार्टीलाई एकताबद्ध बनाउदैं र महामारीका बिरुद्ध संघर्ष गर्दै अग्रगति र प्रगति तिर अघि बढौं ।

१० बैशाख, २०७७

झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
वरिष्ठ नेता,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)