नेपालमा काेराेना : ९ मा पुष्टि, परिवारमा संक्रमणपछि दाेश्राे चरणमा प्रवेश
नेपालमा काेराेना संक्रमणकाे दायरा र तिब्रता बढाउँदै जाँदा संक्रमितकाे संख्या पनि बढ्दै गएको छ । विदेशबाट अाएका व्यक्तिमा मात्रै संक्रमण देखिँदै अाएकामा अाजबाट परिवारमा समेत संक्रमण देखिएपछि याे दाेश्राे चरणमा प्रवेश गरेकाे पुष्टि भएको छ ।
सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको छ ।
पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।