खानेपानी मन्त्रीले कमिशन मागेको भनेर बाेलेकै छैन, सबै हल्ला हुन् : पूर्व सचिव ठाकुर

मूलखबर संवाददाता
काठमाडौं, २८ फागुन

काठमाडौं । खानेपानी मन्त्रालयका पूर्व सचिव गजेन्द्र ठाकुरले खानेपानी मन्त्री बिना मगरका बारेमा आफूले त्यस्तो कुनै पनि गलत कुरा नबोलेको स्पष्टीकरण दिएका छन् ।

पूर्व सचिव ठाकुरले मन्त्रीसँग त्यस्तो कुनै विवाद नभएको र मन्त्रीले कमिशन मागेको भन्ने कुरा आफूले कतै नबोलेको स्पष्टीकरण दिएका हुन् । मन्त्रालयमा रहँदा मेलम्ची खानेपानी आयोजनाको काममा बाधा गरेको, त्यसपछि नेपाल ट्रष्टको सचिव रहँदा यती समूहलाई सस्तोमा जग्गा भाडामा दिन नीतिगत सहयोग गरेको आरोप लागेका ठाकुरले आफूले मन्त्री मगरका बारे त्यस्तो केही नबोलेको प्रतिक्रिया दिएका छन् ।
मेलम्ची खानेपानी आयोजनाको तत्कालीन ठेकेदार कम्पनी सिएमसी दि राभेना काम बीचमै छाडी भागेपछि काम अगाडि बढाउन उसलाई नै काममा फर्काउने कि सम्झौता रद्द गर्ने भन्ने विषयमा मन्त्री र तत्कालीन सचिव ठाकुरबीच मतभेद देखिएको भन्ने समाचारहरु बाहिर सार्वजनिक भएको थियो ।
पूर्व सचिव ठाकुरले खानेपानी मन्त्री मगरले कमिसन मागेको भन्ने कुरा आफूले कतै नबोलेको र त्यस्तो कुरा समाचारमा बाहिर आएपछि आफू नै अचम्ममा परेको बताए । स्पष्टीकरण दिंदै ठाकुरले भने ‘मैले बोलेका कुरा सुरक्षित छन्, मैले मन्त्रीको बारेमा केही बोलेको छैन, मन्त्रीले कमिशन मागेको भन्ने कुरा सबै हल्ला हो ।’ उनले जोड दिंदै भने, ‘मन्त्रीसँग मेरो त्यस्तो कुनै विवाद भएको थिएन र म सरुवा हुनुको कारण त्यस्तो केही होइन, त्यो त सरकारको अधिकारको कुरा हो ।’
‘मैले त्यस्तो केही बोलेको छैन, कसैले गलत सूचना दियो त्यति बेला’ उनले प्रष्ट्याउँदै भने, ‘सचिव जस्तो महत्वपूर्ण पदमा बसेर मैले त्यस्तो बोल्न मिल्दैन ।’ उनले आफू हाल अवकाश प्राप्त कर्मचारी भएका कारण यसबारे चासो नलिन समेत आग्रह गरे । ‘न मन्त्रीले त्यस्तो केही गर्नु भएको छ, न मैले २५ करोडको कमिशनको कुरा गरेको छु’ उनले भने, ‘अब गलत हल्लाको पछाडि नलागौं होला ।’