शेयर बजार : नेप्सेमा नयाँ रेकर्ड, एकै दिनमा ४ अर्ब १४ कराेडकाे काराेबार

मूलखबर संवाददाता
काठमाडौं

शेयर बजार परिसूचक नेप्सेको कारोबारमा रेकर्ड कायम भएको छ । बुधबार नेप्सेमा अहिलेसम्मकै उच्च रु. ४ अर्ब १५ करोड बराबरको शेयर किनबेच भएको हो ।

बजार परिसूचक पनि ५० दशमलव ९३ अंकले बढेको छ । यो सँगै नेप्से परिसूचकले १ हजार ५ सय ९६ विन्दु पार गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्यबाट बाहिरिने खबरसँगै उनको अर्थमन्त्री पद धरापमा परेको अड्कलबाजीले बजार चम्काएको अनुमान गरिएको छ ।

यो साताको चार दिनमा नै नेप्से परिसूचक १ सय ६१ अंकले बढेको छ । आइतबार करिब ७० अंकले बढेको परिसूचक सोमबार स्थिरजस्तो देखिएको थियो । मंगलबार फेरि बजारमा ४३ अंकले बढोत्तरी आएको थियो ।

विश्लेषकहरुले लामो समय शिथिल बजारमा चमक आएसँगै बजारमा बुलिस टेण्ड शुरु भएको बताउँदै आएका छन् । बुधबार नेप्सेमा ९९ लाख ७ हजार कित्ता शेयर खरिद विक्री भएका छन् ।

कारोबारमा सबैभन्दा धेरै एभरेष्ट ब्यांकको संस्थापक, राष्ट्रिय बीमा कम्पनी तथा युनिलिभर नेपालका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् । बुधबार जीवन बीमा समूह ६.१२ प्रतिशत, ब्यांकिङ समूह ३.८६ प्रतिशत, होटल समूह ३.७७ प्रतिशत, उत्पादनमूलक समूह ४.६३ प्रतिशतले बढेका छन् । कारोबारमा सबै उपसूचक बढेका छन् ।