शेयर बजार घट्नुमा को दोषी ? यसो भन्छन् लगानीकर्ता
शेयर बजारमा परिसूचक नेप्से ११ सय अंक नजिक भएपछि पछिल्लो समय लगानीकर्ताले खरिदविक्री घटाएका छन् । बुधबार भने नेप्से बढेको भएपनि तीन वर्ष यताको बजार बैंक तरलता र ब्याजदरका कारण प्रभावित छ । लगानीकर्ताले भने सरकारी नीतिलाई देखाउँदै अर्थमन्त्रीलाई बजार घट्नुको मुख्य पात्र बनाउँदै आएका छन् । तर विश्लेषकहरु भने अर्थमन्त्रीका कारण भन्दा पनि पूँजी वृद्धि, तरलता र ब्याजदर नै सूचक घट्नुको मूख्य कारण भएको बताउँछन् ।
२०७३ साउनमा १ हजार ८ सय ८१ विन्दुमा पुगेको नेप्से परिसूचक पछिल्लो समय १ हजार १ सयको नजिक छ । यसरी हेर्दा नेप्से ४० प्रतिशत बढीले अर्थात ७ सय ५७ अंकले घटेको देखिन्छ । पछिल्लो तीन वर्षको अवधिमा बजार निरन्तर घटेको भने होइन् । बजारमा यसरी गिरावट आउनुमा लगानीकर्ताले भने अर्थमन्त्री डा. युवराज खतिवडालाई दोष दिने गरेका छन् । अर्थमन्त्री खतिवडाका विभिन्न अभिव्यक्ती र सरकारका नीतिहरु कै कारण शेयर किन्न नसकेको लगानीकर्ताहरुको भनाई छ ।
तर केही लगानीकर्ताले भने दिर्घकाल सम्मका लागि लगानी गर्नेहो भने सरकारी नीतिले कुनै असर नपार्ने बताउँछन् । त्यसमा अर्थमन्त्रीलाई दोष दिनुभन्दा बैंकको ब्याजदर र कम्पनीको वित्तीय विवरणमा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ । लगानीकर्ता जेबी थापा भने बजार ब्याजदरबाट प्रभावित हुने भएकाले बैंकको निक्षेपबाट भन्दा शेयर बजारबाट पाउने प्रतिफल बढी भए मात्र कारोबार बढाउन सकिने बताउनु हुन्छ ।
शेयर विश्लेषक सन्तोसराज बजगार्इं भने शेयर बजार अर्थमन्त्रीका अभिव्यक्तिबाट भन्दा पनि ब्याजदरबाट प्रभावित भएको बताउनुहुन्छ । उहाँले पछिल्लो तीन वर्ष बैंकको ब्याजदर १४ प्रतिशत सम्म पुगेकाले बजारमा शेयरको माग घटेको बताउनुहुन्छ । छोटो समयमा अर्थमन्त्री डा. खतिवडाका अभिव्यक्तिले असर गरेपनि बजार घटनुको मूख्य कारण बैंक तरलता र ब्याजदर नै भएको बजगाईं बताउनुहुन्छ ।
बुधबारको शेयर बजार भने ब्याजदरमा स्थिरता आएको भन्ने हल्लाका कारण ८ दशमलव ७३ अंकले बढ्यो । कारोबार रकम पनि ३० करोड रुपैयाँ भन्दा माथिको भएको छ । कतिपय लगानीकर्ताले भने बुधबारको वृद्धिलाई करेक्सन हुन सक्ने बताएका छन् । तरपनि केही बैंकहरुमा अझैपनि तरलताको समस्या कायम छ । यसले ब्याजदरलाई माथि पुयाएको छ ।
ब्याजदरको उल्टो असर शेयर बजारमा पर्ने गरेको छ । त्यसैले ब्याजदर बढ्दा नेप्से घट्नु स्वभाविक हो । यसको असर दिर्घकालसम्म पर्ने विश्लेषक बजगाईं बताउनुहुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पूँजी वृद्धिका कारण बैंकिङ प्रणालीमा देखिएको तरलताले ब्याजदर बढ्न गई नेप्सेमा गिरावट आएपनि नीतिगत व्यवस्थालाई देखाउँदै लगानीकर्ताले भने अर्थमन्त्री डा. खतिवडालाई बजार घटनुको मुख्य पात्र बनाउँदै आएका छन् ।