१३ औं सागको सुरक्षा व्यवस्था चुस्त, सवारीमा जोर विजोर प्रणाली लागु गरिने

मूलखबर संवाददाता
काठमाडौं, १३ मंसिर

नेपाल प्रहरीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएको छ ।

बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सागको सुरक्षा व्यवस्था मजबुत रहेको बताउनु भयो । खेलका लागि आवश्यक सुरक्षाको पुर्व तयारी र व्यवस्थापनको सबै काम सकिएको पनि बताउनु भयो । यस्तै सागका बेला ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको पनि नेपाल प्रहरीले बताएको छ ।

जसअनुसार मंसिर १५ गते बिजोर र मंसिर २४ गते जोर नम्बरको सवारी साधन चलाउन पर्ने छ । यस्तै उद्घाटन र समापनका बेला रंगशालामा खेल हेर्न आउने सर्वसाधारणका लागि पार्किङको व्यवस्था टुँडिखेलमा गरिएको छ ।

साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको पत्रकार सम्मेलनमा जनकारी दिएको छ । यस्तै साग खेलका लागि राखेपले फुटबल, भलिबल र बास्केटबलमा टिकट प्रणाली गर्ने जनाएको छ । राष्ट्रिय खेलकुद परिषदले यी खेलहरुको टिकटको जिम्मा इसेवालाई दिएको छ ।

टिकट खरीद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिने कम्पनीका सिइओ रोशन लामिछानेले बताउनु भयो । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार ९ सय रहे पनि १४ हजार सिटको लागि मात्रै टिकट बिक्री गरिने भएको छ ।