प्रचण्डको सचिवालयद्वारा भ्रामक समाचारको खण्डन

मूलखबर संवाददाता
काठमाडौं, ३ मंसिर

सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रचण्डको नाम जोडेर मन्त्रीमण्डल हेरफेरका विषयमा आएका समाचारको खण्डन गरेको छ ।

प्रचण्डको सचिवालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरुमा कुनै सत्यता नभएको र प्रचण्डले मन्त्रीपरिषदको हेरफेर लगायतका सम्पूर्ण अधिकार प्रधानमन्त्रीको रहेको बताउँदै आउनुभएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,  हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित / प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।

मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।