छठ शुरु : देशभर रौनक, नदी पोखरी र तलाउहरु सजाइए, प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

मूलखबर संवाददाता
काठमाडौं, १६ कात्तिक

तराईमधेसका हिन्दुधर्मावलम्बी सामुदायबीच ज्यादै महत्वपूर्ण मानिने छठपर्वको तयारी भव्यरुपमा गरिएको छ । छठ पर्वको अवसरमा तराईका विरगञ्ज, जनकपुर देखि राजधानी काठमाडौको रानीपोखरी, गुह्श्वरी, कमलपोखरी लगायतका स्थानहरु रंगिचंगी बनाएर सजाइएको छ । आज दोश्रो दिन खरनाको रुपमा छठपर्व मनाइँदै छ । छठ ब्रतालुहरुले नजिकैको नदी, पोखरी तथा तालहरुमा नुहाएर चोखो भई मिठो भोजन गर्छन्।

दिनभरी उपवास बसी राती दूध लगायत मिष्ठान भोजन गर्ने (जसलाई रसिआव रोटी भनिन्छ), भोलि शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिवत रुपमा समापन हुन्छ ।

तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको घडीअर्वा, नगवा, रानीघाट, मुर्ली, छपकैयालगायतका पोखरी तथा सरोवरसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइएको छ ।

छठ पूजा गर्नाले सुख समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । महाभारतकालमा द्रौपती र अनुसुइयाले पनि छठको व्रत बसेको धार्मिक ग्रन्थमा उल्लेख रहेको छ ।

तीन दिनसम्म उपवास बसी मनाइने छठपूजा पछिल्लो समय तराई मधेशमा मात्रै नभई नेपालका पहाडी भेगमा पनि मनाउन थालिएको छ ।

छठलाई हिन्दूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेशका मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठी माताको पूजा आराधना गर्दै आएका छन् ।

आराध्यदेव सूर्य र ब्रह्माकी मानसपुत्री छठी ९षष्ठी०को उपासना तथा आराधना गरी मनाइने महान् चाड छठ बिहीबारदेखि सुरु भएको हो । आज षष्ठी ९शनिबार०का दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सुरुआत र सप्तमी ९आइतबार०का दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व सम्पन्न हुन्छ ।

परम्परागत रूपमा तराईमा केन्द्रित छठ यताका वर्षमा काठमाडौँ उपत्यकामा पनि उत्साहजनक रूपमा विस्तार भएको छ । धनी, गरिब, मधेसी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा छठ पर्व लोकप्रिय बन्दै गएको छ ।
वीरगञ्ज घर भई विगत पाँच वर्षदेखि राजधानीमा बसोबास गर्दै आउनुभएका राममनोहर साहले छठलाई सामाजिक एकता र सद्भावको पर्वका रूपमा आफूले लिएको बताउनुभयो । विगत केही वर्षयता यस पर्वले नेपाली–नेपालीबीचको एकताको सूत्रलाई थप बलियो पार्ने काम गरेको उहाँको अनुभव छ ।

विशेष शुद्धाशुद्धि, हर्षोल्लास र परिवार, मित्रजन तथा आफन्तजनसँगको भेटको अवसरका रूपमा मनाइने यो पर्वले मुलुकमा सामाजिक समानता कायम गर्न मद्दत पु¥याएको छ । पूर्वीय सभ्यतामाथि पाश्चात्य सभ्यताको आक्रमण बढ्दै गएको अहिलेको अवस्थामा यस पर्वको व्रतालु र श्रद्धालु वृद्धि हुनुले महìव बढ्दै गएको उहाँको धारणा छ ।

छठ पूजाका लागि राजधानी काठमाडौँस्थित कमलपोखरी विशेष रूपमा सजाइएको छ । रानीपोखरी निर्माणाधीन अवस्थामा रहेकाले कमलपोखरीमा नै रानीपोखरीको झल्को दिने गरी अस्थायी रूपमा गोपालेश्वर मन्दिर निर्माण गरिएको छ । कमलपोखरी छठ पूजा समाजका महासचिव राजकुमार जैनले सो मन्दिर थर्माकोलबाट बनाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार छठी पर्वको पूजा आराधनाका लागि कमलपोखरीमा शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत आउनुहुनेछ । यहाँ तीन सयभन्दा बढी व्रतालुले पूजा अर्चनाका लागि स्थान लिइसकेको जानकारीसमेत उहाँले दिनुभयो । स्थान लिइसकेकाहरूलाई स्थान नम्बर उपलब्ध गराइएको छ, सोही स्थानमा आएर सम्बन्धित व्रतालुले बस्ने उहाँले बताउनुभयो ।

यसैगरी पशुपतिस्थित गुह्येश्वरी र बाग्मती–मनोहरा दोभानमा समेत विगत वर्षझँै यो वर्ष पनि छठ पूजाका लागि विशेष तयारी गरिएको छ । छठ पूजा समिति गुह्येश्वरीका सदस्य राजकुमार पोदारले सो स्थानमा छठको पूजा अर्चनाका लागि ६७२ जनाले स्थान लिइसकेको जानकारी दिनुभयो । हरेक वर्ष व्रतालुको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार व्रतालुहरूमध्ये ३५ प्रतिशत पहाडी समुदाय छन् ।

त्यसैगरी राजधानीको नक्सालस्थित नागपोखरीमा समेत यो वर्ष पहिलोपटक छठ पर्व आयोजना गरिएको छ । छठ पूजा मूल समारोह समितिका संयोजक किशोरी महतोले मुलुकमा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न तथा शान्ति, भाइचारा र सद्भाव कायम गर्न नागपोखरीमा पहिलोपटक छठ पर्व आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार एक सयभन्दा बढी व्रतालुले छठको पूजा आराधनाका लागि स्थान लिइसकेका छन् ।

छठ पूजा सेवा समाज, ललितपुर सानेपाका अध्यक्ष राकेश मेहताले यस स्थानमा छठको पूजा अर्चनाका लागि पहाडी समुदायका २० जनासहित १८० जना व्रतालुले स्थान लिइसकेको जानकारी दिनुभयो । सो स्थानमा व्रतालुका लागि पोखरीसमेत निर्माण गरिएको उहाँले बताउनुभयो ।

विभिन्न कामले राजधानीमा बसोबास गर्दै आएका तराईबासीहरू छठ पर्व मनाउन प्रायः आ–आफ्नो गाउँ नै जाने गर्दछन् भने केहीले राजधानीमा नै केही वर्षदेखि यो पर्व मनाउँदै आएका छन् ।
विराटनगर घर भई अहिले राजधानीको बालाजुमा बस्दै आउनुभएका प्रभन्स ठाकुर चाडपर्व आस्था र विश्वासका साथ जहाँ मनाए पनि फरक नपर्ने र झन् आफ्नो संस्कृतिको प्रचारप्रसार हुने बताउनुहुन्छ ।
त्यस्तै भारतको बिहार ९सीतामढी० घर भई व्यापार व्यवसायको सिलसिलामा अहिले राजधानीको सीतापाइलामा बस्दै आउनुभएका शङ्कर तिवारी आफू बसेको र कार्यरत रहेको ठाउँमा नै चाडपर्व मनाउनुपर्ने बताउनुहुन्छ ।
एक ठाउँको चाडपर्व अर्को ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदानसमेत हुने उहाँको तर्क छ । कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको शुभारम्भबारे विभिन्न कथा र किंवदन्ती रहेको बताउनुहुन्छ, संस्कृतिविद् डा। रामदयाल राकेश । सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलोपटक छठ पर्व गरेको उहाँ बताउनुहुन्छ ।

महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुहुन्छ । त्यस बेलादेखि नै छठ पर्वको सुरुआत भएको धेरैको विश्वास छ । त्यसैगरी सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गिनी सति अनुसुइयाले छठ पर्व गरेको उल्लेख पाइन्छ । साम्बपुराणका अनुसार पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडत श्रीकृष्णपुत्र साम्ब सूर्यको पूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ । त्यसबेलादेखि नै छठ पर्वको प्रारम्भ भएको कति९पयको विश्वास छ ।

त्यस्तै कुष्ठरोगबाट नै पीडित कवि मयुर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुआत भएको संस्कृतिविद् डा। राकेशको भनाइ छ । संसारमा सूर्य पूजाको परम्परालाई हेर्ने हो भने सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबोलोनका निवासीहरूले सूर्यलाई पूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई ‘अपोलो’का रूपमा पूजाआजा गर्ने गरिन्छ । जापानीहरू ‘इजानागी’ र ‘इजानामी’लाई आदि पुरुष र आदि नारीका रूपमा मान्ने गर्दछन् र यी आदि पुरुष र आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्दछन् । त्यसैगरी मिश्र सभ्यतामा ‘एटम’ अथवा ‘रे’ भनेर सूर्यको पूजाआजा गर्ने गरिन्छ ।

व्रतालु रोशनी साहका अनुसार यो पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन व्रतालुले स्नान ध्यान गरी खासगरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्दछन् । छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि नै विशेष शुद्धाशुद्धि अपनाइन्छ । यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्दछन् ।

उहाँका अनुसार दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सख्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खीरलाई व्रतालु र परिवारका अन्य सदस्यहरूले प्रसादका रूपमा ग्रहण गर्दछन् । छठी पूजा नहुने टोल छिमेकको घरमा सो खीर प्रसादका रूपमा पठाइने गरिन्छ ।

यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिन आजलाई प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसार लगायतका परिकारहरू तेल–घ्यूमा पकाइन्छ । तयार पारिएका परिकारहरू, पाँचथरिका मिठाई, उखु, अदुवा, नरिवल, मूला, सुथनी, सुपारी, ल्वाङ, सुकुमेल लगायतका प्रसादहरू बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित व्रतालुहरू परिवारका सदस्यहरूसहित नजिकको जलाशयमा जान्छन् र अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । अघ्र्य दिएपछि व्रतालुहरू घर फर्कन्छन् ।

कतिपय व्रतालुहरू घर नफर्किएर पूजास्थलमा नै रातभरि जाग्रम बस्छन् । त्यहाँ कसैकसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोशिया’ भनिन्छ । भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो महापर्वको महायात्रा यहीँ सम्पन्न भएको मानिन्छ ।

जातीय, क्षेत्रीय र वर्गीय मुद्दामा विभाजित हुन लागेको अहिलेको हाम्रो समाजमा धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई समेत मद्दत पुगेको धारणा समाजसेवी रामशरण शुक्लाको छ ।

प्रदेश २ मा आइतबार बिदा

प्रदेश २ सरकारले छठ पर्वको दोस्रो दिन आइतबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले छठ पर्व शनिबार र आइतबार समेत मनाउने गरिएको हुनाले आइतबारसमेत प्रदेशमा बिदा दिइएको जानकारी दिनुभयो । यसअघि सङ्घीय सरकारले छठ पर्वको पहिलो दिन हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।