आर्यघाटमा सहमति : एउटा शव जलाउँदा १५ सयसम्म पाउने, औषधी खर्च पनि बढ्यो

मूलखबर संवाददाता
काठमाडौं, ६ कात्तिक ।

आन्दोलन कहाँ हुन्छ, कसरी गरिन्छ र कसले गर्न पाउँछ भन्ने संविधानमा पनि व्यवस्था गरिएको छ । जसलाई मौलिक अधिकार नै मान्नु पर्ने तर्क पनि छ । अहिलेसम्म धेरै स्थानमा आन्दोलन भएको सुनिएको र देखिएको थियो तर यस पटक आर्यघाटमा नै आन्दोलन भयो र शोकाकूल अवस्थामा शव दाहन गर्न आएका जनमानसहरु आन्दोलन हेर्न विवश मात्रै भएनन् घण्टौं शव जलाउन नपाएर पीडित हुनुपर्यो ।

नेपालको सबैभन्दा प्रमूख आर्यघाट पशुपति आर्यघाटमा घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन गरेपछि यस्तो अवस्था सिर्जना भएको हो । घाट सेवाका कर्मचारीहरुले आफ्नो सुविधा बढाउन माग गर्दै आन्दोलन गरेपछि क्षेत्र विकास कोष र आन्दोलनकारी कर्मचारीबीच वार्ता भएर सहमति समेत भएको छ फलस्वरुप आन्दोलन अन्त्य भएको छ ।  पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ ।

आन्दोलनकारी कर्मचारीले बुधबार बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो ।

घाट सेवा केन्द्रका कर्मचारीहरुसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेशकुमार डंगोलको उपस्थितिमा गरिएको सहमतिमा घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई बुधबारबाटै कार्यान्वयनमा लैजान लागिएको पनि कोषले जनाएको छ ।

यस्तो भयो सहमति –
सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अब एउटा शव जलाएबापत १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ पाउनेछन् भने औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पुर्‍याइएको छ । त्यसैगरी अवकाश पाउँदा उपदानबापत डेढ लाख पाउनेमा पाँच लाख रुपैयाँ पुर्‍याइएको छ ।

१० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशबापत ५० हजार रुपैयाँ दिँदै आएकोमा अब उनीहरुले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका कर्मचारीलाई अवकाश पछि पाउने उपदान १ लाख रुपैयाँ बढाएर ३ लाख दिने सहमति गरिएको छ ।

त्यसैगरी १५ वर्षभन्दा बढी सेवा गरेका घाट सेवाका कर्मचारीले पाउने उपदान बापतको रकम १ लाख ५० हजारबाट बढाएर ५ लाख पुर्‍याउने सहमति पनि गरिएको छ ।

वार्तामा सहभागि काठमाण्डौ महानगरपालिका वडा नम्बर(८ का वडाध्यक्ष डंगोलले १५ वर्षभन्दा बढी काम गरेका घाट सेवाका कर्मचारीहरुलाई ५ लाख उपदान दिने सहमतिप्रति असन्तुष्टि जनाउँदै कम्तिमा १० लाख पुर्‍याउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यता, घाट सेवाका कर्मचारीहरुले पनि १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपदान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले कम्तिमा १० लाख उपादान दिने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषसँग माग पनि गरेका थिए ।