युएइ पुगेर उर्जा मन्त्री पुनले गरे लगानीको लागि अपील

मूलखबर संवाददाता
युएइ, भदाै

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न अपील गर्नुभएको छ । विश्व ऊर्जा सम्मेलनमा भाग लिन युएइको राजधानी पुगेका अबुधावी मन्त्री पुनले नेपाली राजदूतावासमा नेपाली समुदायसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको बताउनुभयो । मन्त्री पुनले आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न नेपाली समुुदायका प्रतिनिधिलाई आग्रह गरे ।
मन्त्री पुनले भन्नुभयो – अहिले लगानीका लागि नेपालमा उपयुक्त वातावरण बनेको छ, सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर आकर्षक आयोजना अघि बढाएको छ, तपाईंहरूले पनि यसमा लगानी गरेर प्रतिफल लिनुुहोस्,’

ऊर्जामन्त्री पुनले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर ऊर्जा मन्त्रालयले रेमिट हाइड्रोको सुरुवात गर्ने तयारी गरेको जानकारी दिनुभयो । सरकारले सम्पूर्ण जनतालाई जलविद्युतसँग जोड्न जनताको जलविद्युत् कार्यक्रमसमेत सञ्चालनमा ल्याएको भन्दै त्यसमा सहभागी हुनसमेत उनले नेपाली समुुदायसँग आग्रह गर्नुभएको हो ।

नेकपा स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले सरकारले पहिलो वर्ष नीतिगत काममा ध्यान दिएको भन्दै यो वर्ष कामले गति लिने दाबी गर्नुभयो ।

सरकारले भ्रमण वर्ष २०२० सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पुनले २० लाख पर्यटक भित्र्याउन सरकारले पूर्वाधार तयारी गरिरहेको जानकारी गराएका थिए । नेपाली समुदायसँगको भेटघाटका क्रममा उहाँले भन्नुभयो–अहिले देशमा राजनीतिक र नीतिगत स्थिरता छ, पर्यटन क्षेत्र पनि फस्टाउँदो अवस्थामा छ, त्यसका लागि पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । भैरहवा र पोखरा एयरपोर्ट पनि चाँडै सञ्चालनमा आउँदै छ । नेपालको अर्थतन्त्रमा ५३ प्रतिशत योगदान सेवा क्षेत्रको छ, यसमा तपाईंहरूले पनि लगानी गर्नुहोस् ।’ मन्त्री पुनले १८ महिनामा लाइसेन्स लिएर काम नगर्ने १ सय ९ वटा जलविद्युत् कम्पनीको लाइसेन्स खारेज गरेको जानकारी दिँदै आगामी दिनमा निर्माणको चरणमा गएपछि मात्र लाइसेन्स दिने गरी सरकारले नियम बनाउने तयारी थालेको जानकारी दिनुभयो ।