नेपालले जोहरविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

मूलखबर संवाददाता
काठमाडौं, ९ भदाै

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको छ। नेपाली राष्ट्रिय फुटबल टिमले सोमबार मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेल जोहार शहरको पसार गुन्डाङ रंगशालामा नेपाली समयअनुसार साँझ ६ ः३० मा हुनेछ। खेल हेर्न चाहनेहरुका लागि निस्शुल्क टिकट उपलब्ध गराइनेछ। त्यसका लागि तोकिएको स्थानमा टिकट लिनु पर्नेछ।

खेलमा सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टिमको पहिलो पटक कप्तानको जिम्मेवारी निर्वाह गर्नेछन्। सुजलले सन् २०११ मा पोखरामा भएको भुटानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले १३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

टिममा नियमित कप्तान विराज महर्जनले फिटनेसका कारण स्थान बनाउन असफल भएका थिए। गोलकिपर किरण चेमजोङ र रोहित चन्द पनि उपलब्ध नभएपछि नयाँ कप्तानको खोजी भएको थियो।

किरण ३ साताअघि जापानमा प्रशिक्षणका लागि गएका थिए। रोहित इन्डोनेसिया लिग खेलिरहेका छन्। दुवै खेलाडी विश्वकप छनोटका लागि भने उपलब्ध हुनेछन्।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । नेपालले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ। यस्तै नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।

जोहरको टिममा ब्राजिलयन डिफेन्डर माउरिसियो र फरवार्ड डिएगो छन् । यस्तै अर्जेन्टिनाका फरवार्डद्वय गोन्जालो र लियोनार्दो पनि टिममा हुँदा नेपाललाई अप्ठारो पर्न सक्छ ।