अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीलाई कडाइ गरिने संकेत

काठमाडौं, ९ साउन –
राष्ट्र बैंकले अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीलाई कडाइ गरिने संकेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उक्त व्यवस्था गरिएको देखिन्छ । सार्वजनीक गरिएको मौद्रीक नीतिमा अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछ भन्ने बुँदा उल्लेख गरिएको छ ।

१४३ नम्बरमा रहेको यस बुँदाले अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीलाई कडाइ गरिने संकेत दिएको देखिन्छ ।

बर्षेनी भ्रमण तथा अध्ययनका लागि मोटो रकम बाहिरिने गरेको छ । जसले गर्दा विदेशी मुद्राको सञ्चितीमा समेत चाप परेको छ । कुन प्रयोजनका लागि पढ्न तथा घुम्न विदेश जान लागिएको हो सोको उपयुक्तता बुझेर सोही अनुसार नियमन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विदेश जान कडाइ गर्दै यसअघि नै केही नीति लिइसकेको थियो । उसले विदेश भ्रमणमा जाँदा लिने सटही सुविधा १५ सय डलरमा झारिसकेको छ । एक व्यक्ति २५ सय डलरसम्म सटही गर्न सक्ने सुविधालाई राष्ट्र बैंकले यसअघि नै घटाएको हो ।

गत बर्ष विदेश भ्रमण र अध्ययनका लागि मात्र ८० अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याँकमा छ । मौद्रिक नीतिको यो बुँदा कार्यान्वयनका लागि राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।