मनिषाको पोष्टमार्टम रिपोर्ट आयो तर मृत्युको कारण खुलेन, प्रहरीले प्रेमीको पोलीग्राफ गर्यो

काठमाडौं,१८ जेठ ।

नेपालका चर्चित फुटबल खेलाडी विलम घर्ती मगरकी बहिनी मनिषाको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टले हत्या कि आत्महत्या भन्ने प्रष्ट गर्न सकेको छैन ।

१७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् । उन्को मृत्यु घरमा आफन्त कोहीपनि नभएको बेला राती भएको थियो । प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने बताएको थियो ।

उनको शव शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको थियो । शिक्षण अस्पतालले जनाए अनुसार पोस्टमार्टम रिपोर्ट मंगलबार विहान प्रहरीलाई बुझाइएको छ । प्रहरीलाई बुझाइएको मनिषाको पोष्टमार्टम रिपोर्टले हत्या हो कि आत्महत्या भनेर स्पष्ट उल्लेख गरेको छैन ।

रिपोर्टमा घाँटीमा भएको प्रेसरले मृत्यु भएको देखाएको छ । रिपोर्ट अनुसार मनिषाको गालामा सामान्य चोट छ भने घाँटीमा २५ सेन्टिमिटरको डाम छ र सलको आकारसँग मिल्दोजुल्दो छ ।

रिपोर्टमा हृयाङ्गिङबाट मृत्यु भएको देखाएको छ । हृयाङ्गिङको अर्थ आफैं झुण्डिएको वा अरुले झुण्ड्याएको के हो भन्ने स्पष्ट हुँदैन ।

मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । र, उनले घटना भएको राति मनिषासँग आफ्नो झगडा भएको तर, हत्या नगरेको दाबी गरेका छन् ।

आशिषले झूठ बोले नबोलेको पत्ता लगाउन नवलपरासी प्रहरीले आज पोलीग्राफ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलमा पाँच घण्टा लगाएर चौधरीको जाँच गरेको हो ।

जाँचका लागि पोखराबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा दुई सदस्यीय टोली नवलपरासी आएको थियो । शान्त र एकान्त ठाउँमा पोलिग्राफ टेस्ट गर्नुपर्ने भन्दै चौधरीलाई सुनवल लगिएको थियो ।

पोलिग्राफ टेस्टको निष्कर्ष भने सार्बजनिक गरिएको छैन । उक्त जाँचलाई काठमाडौं पठाइने र त्यसपछि मात्रै सार्बजनिक गरिने नवलपरासी प्रहरीले जनाएको छ ।