काठमाडौंमा ऊर्जा लगानी सम्मेलन शुरु

काठमाडौं,१८ जेठ ।

आजबाट काठमाडौंमा ऊर्जा लगानी सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल विकासको नयाँ चरणमा प्रवेश गरेकाले उर्जा विकास अनिवार्य भएको बताए ।
काठमाडौंमा सुरु भएको उर्जा लगानी सम्मेलनको उद्घाटन समारोहलाई संबोधन गर्दै ओलीले नेपाललाई अन्तर्राष्ट्रिय लगानीको केन्द्र बनाउन प्रयास गरिरहेको बताए ।

नेपालमा गरेको लगानी सुरक्षित हुने भन्दै उनले ढुक्क भएर नेपालको उर्जा क्षेत्रमा लगानी गर्न पनि अन्तर्राष्ट्रिय कम्पनीलाई आग्रह गरे । यो सम्मेलन नेपालको उर्जा विकासमा कोषेढुंगा सावित हुने विश्वास पनि व्यक्त गरे ।

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले नीतिगत सुधारसँगै नेपालमा लगानीको वातावरण बढ्दै गएको बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले नेपालले १० वर्षमा १० हजार बिजुली निकाल्न सक्ने बताए ।

काठमाडौंमा बुधबारसम्म चल्ने सम्मेलनमा नेपालसँगै भारत, भुटान, चीन, सिंगापुर लगायतका देशका, उर्जा कम्पनी, ठेकेदार कम्पनी तथा कन्सल्ट्यान्टको सहभागिता छ ।