कनकलाई अर्को झड्का, लुकाएको जग्गा सरकारको नाममा ल्याउन अख्तियारले दियो निर्देशन
काठमाडौं १७ जेठ ।
अख्तियारले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा प्रकाशीत खबर अनुसार मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ । पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ ।
दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ ।