सिआइएन आठौं वर्षमा, सञ्चारमन्त्रीले दिए रेडियोलाई आश्वासन
सामुदायीक रेडियोहरुको छाता संगठन सामुदायीक रेडियो प्रसारक संघ नेपालद्धारा संचालित सामुदायीक रेडियो नेटवर्क आठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बजेटमा सामुदायिक रेडियोहरुको लागि स्पष्ट व्यवस्था नभए पनि समग्र सूचना तथा सञ्चारको क्षेत्रमा छुट्याइएको बजेटमार्फत नै आफूले सामुदायिक रेडियोहरुलाई सम्बोधन गर्ने बताएका छन् ।
सञ्चारमन्त्री राईले सामुदायिक रेडियोहरुका लागि बजेट छुट्टिएन भनेर निराश र आक्रोशित नहुन समेत आग्रह गरेका छन् । सरकारद्धारा सार्वजनीक गरिएको बजेटमा सामुदायीक रेडियोहरुलाई सम्बोधन नगरिएको भन्ने गुनासोलाई संबोधन गर्नै क्रममा राईले उक्त कुरा बताएका हुन् ।
नीतिगत निर्णय गरी सामुदायिक रेडियोहरुको विकासमा सरकार प्रतिवद्ध रहेको मन्त्री राईले बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले बजेट कार्यान्वयनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा सामुदायिक सूचना नेटवर्क (CIN) दक्षिण एशियाकाे सवैभन्दा ठुलाे रेडियाे समाचार नेटवर्ककाे रुपमा स्थापित भएकाे जानकारी गराईएको थियो ।