मधेशवादी दलसहित ९ वटाले व्यवस्थापिका संसद्को बैठक वहिष्कार गरे

काठमाडौं,१३ जेठ ।

मधेशवादीसहितका विभिन्न ९ वटा दलहरुले व्यवस्थापिका संसद्को बैठक वहिष्कार गरेका छन्।

पहिचानसहितका प्रदेशको माग राखेर आफूहरुले गरिरहेको आन्दोलनलाई सरकारले उपेक्षा गरेको भन्दै विभिन्न ९ वटा दलले विहिवारको संसद् बैठक वहिष्कार गरेका हुन्। तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद् जंगीलाल रायले माग पूरा गराउनका लागि दवाब दिन आन्दोलन गरिरहेको अवस्थामा आफूहरु संसद् बैठकमा नबस्ने बताए।

उनले आफूहरू वार्ताबाट समस्याको समाधान खोज्न तयार रहेको तर त्यसका लागि संघीयताविरोधी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा संयोजक रहेको राजनीतिक समितिको सट्टा अर्को वार्ता समिति गठन गरिनुपर्ने बताए। उनले थापा संयोजक रहेको समितिले माग पूरा गर्नेमा आफूहरुलाई विश्वास नरहेको बताए।

तमलोपाका सांसद् रायले आफूहरुले उठाएका माग सम्बोधनका लागि इमान्दार हुनुको साटो सरकारले मधेशका जिल्लामा सेना परिचालन गरेको आरोप लगाए। उनले मधेशका गाउँहरुमा सेनाको समूहले गस्ती थालेको र त्यसका कारण जनतामा त्रास फैलिएको भन्दै सेना परिचालन गर्नुको कारण स्पष्ट पार्न सरकारसँग माग समेत गरे।

तमलोपाका सांसद् रायले बोलिसकेपछि संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, फोरम गणतान्त्रिक लगायतका दलका सांसद्हरु बैठक कक्षबाट बाहिरिएका थिए ।