यातायात व्यवसायीले गरेको चक्का जामले जनजीवन प्रभावित

yatayat banda

काठमाडौं, १३ जेठ ।

ट्राफिक जरिवाना वढाइएको विरोधमा यातायात व्यवसायीले गरेको चक्का जामले जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण काठामाडौं उपत्यकामा बिहानैदेखि भाडाका गाडी चलेका छैनन् । यस्तै काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने लामो दूरीका गाडीमा पनि बन्दको प्रभाव परेको छ ।
ट्राफिक प्रहरीले नियम विपरित गाडी चलाउनेलाई जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागु भएको विरोधमा यातायात व्यवसायीले विहीबार चक्का जाम गरेका हुन् ।
सार्वजनिक भाडाका गाडी नचल्दा काठमाडौंका सडकमा सवारी साधनको चाप घटेको छ ।
गृहमन्त्रालयले संसदले पास गरेको नियम मान्दैनौं भन्दै गाडी नचलाए कारबाही गर्ने चेतावनी दिए पनि यातायात व्यवसायीले चक्का जाम गरिरहेका छन् ।
व्यवसायीहरुले सरकारले सरोकारवालासँग छलफल नै नगरी ऐन संशोधन गरेर नयाँ नियम लागु गरेको भन्दै विरोध स्वरुप चक्का जाम गरेका हुन । व्यवसायीले बढाएको ट्राफिक जरिवाना तत्काल फिर्ता गर्न माग समेत गरेका छन् ।
विहान ५ बजेदेखि शुरु भएको चक्काजाम बेलुकी ५ बजेसम्म कायम रहने आयोजकले बताएका छन् ।