पुनर्निर्माणमा संयुक्त राष्ट्रसंघले नेपाललाई निरन्तर सहयोग गर्ने
काठमाडौं,१२ जेठ ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले भूकम्पबाट क्षतिग्रस्त नेपालको भौतिक संरचनाहरुको पुनर्निर्माणमा संयुक्त राष्ट्रसंघले निरन्तर सहयोग गर्ने बताएका छन् ।
टर्कीको इस्तानवुलमा आयोजित विश्व मानवीय सम्मेलनका क्रममा महासचिव वानले भूकम्प पश्चातको उद्धार तथा राहतमा राष्ट्रसंघले सहयोग पुर्याएको र पुनर्निर्माण कार्यमा पनि निरन्तर सहयोग रहने बताएका हुन् ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सहितको टोलीले नेपाल सरकारले तयार पारेको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पाँच वर्षे योजनाको खाका हस्तान्तरण गरेको थियो । सो अवसरमा महासचिव वानले पुनर्निर्माण सम्बन्धी खाका ल्याएकोमा खुशी व्यक्त गर्नु भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।
उपप्रधानमन्त्री थापा सहितको टोलीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाममा भूकम्प पीडित र पुनर्निर्माणको लागि विभिन्न क्षेत्रबाट संकलन गरिएको सहयोगलाई छिटो भन्दा छिटो नेपालमा पुर्याइ सदुपयोग हुनु पर्नेमा जोड दिएको थियो ।
टर्कीको चार दिने भ्रमण सकि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली स्वदेश फर्किएका छन् ।