हतियार देखाउँदै विप्लवले भने, ‘ हामी फेरी लड्न तयार छौं।’
नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले आफ्नो पार्टीले समानान्तर सत्ता चलाईरहेको बताएका छन् । उनले समानान्तर सत्ता चलाउँदा सरकारले दमन गरे आफ्नो पार्टी प्रतिरोध युद्ध लड्ने चेतावनी दिए ।
शुक्रबार खुल्लामञ्चमा आयोजीत जनसभालाई संबोधन गर्दै विप्लवले ‘आइसीसीमा प्रतिनिधिसभा छ भने जनप्रतिनिधिसभा हामीसँग छ, केपी ओली प्रधानमन्त्री भएको एउटा सरकार छ भने हामीसँग सन्तोष बूढा प्रमुख रहेको जनसरकार पनि छ ।’
उनले आफुहरुसंग प्रधानन्यायधिश भएको संकेत गर्दै भने , ‘सुशीला कार्की मात्रै प्रधानन्यायाधीश होइन, अर्को पनि प्रधानन्यायाधीश छ भन्ने हेक्का राख्नुपर्छ ।’
राज्यले जनताको अधिकारमाथि दमन गरे प्रतिरोध युद्ध लड्ने विप्लवले बताए । उनले सेना र प्रहरीलाई पनि देश बेचुवा दलालहरुको पक्षमा नलाग्न र जनताको शक्तिलाई चिन्न आग्रह गरे ।
महासचिव विप्लवले जनगणतन्त्र स्थापनाका लागि दलालहरुको राज्यसत्ता विरुद्ध लाग्न खुल्ला मञ्चबाट आग्रह गरे । पानीमा भिज्दै निकै लामो र जनतालाई हौस्याउने भाषण गरेका विप्लवले माओवादीलाई हेप्न र मास्न कसैले सोचेको छ भने त्यो सपनामात्रै हुने बताए ।
माओवादीले उठाएका मुद्दाहरुको सम्बोधन नभएको र राज्यको चरित्र दलाल एवं सामन्तवादी भएकाले फेरि विद्रोह गर्नु परेको बिप्लवको भनाई छ ।
विप्लवले मधेस र जातीय पहिचानका विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै भारतले गोर्खाल्याण्ड माग्ने नेपाली भाषीलाई दमन गरेर नेपालका मधेसीहरुको अधिकारको कुरा गर्न नसुहाउने तर्क गरे । ‘भारतमा नेपालीभाषीहरुले गोर्खाल्याण्ड मागेको कति वर्ष भयो ? आफ्नो अधिकार माग्ने जनतामाथि उसले दमन गर्छ अनि मधेसीलाई मुक्ति दिन्छ ?’
विप्लवले भने , दिल्लीले मधेसीलाई मुक्ति दिन्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम मात्रै हो, पहाडी दलाललाई च्यापेर दिल्लीले मधेसीलाई दुःख दिएको छ, दिल्लीले नेपाली जनतालाई माया गर्दैन । भारतले मधेसीलाई साथ दिँदैन, दिल्लीको नीति काठमाडौंलाई आफूमा लिने हो ।’
जनसभा हुनुअघि विप्लव माओवादीले राजधानीका मुख्य स्थानबाट र्याली निकालेको थियो । र्यालीमा सहभागी सबैले रातो टोपी र हातहातमा राता झण्डा बोकेका थिए । यसअघि अन्य पार्टीले आयोजना गरेका जनसभामा प्रत्येकको हातहातमा झण्डा बोकेको देखिएको थिएन । सबैले हातहातमा राता झण्डा बोकेर जनसभामा सहभागीहरु पानीमा भिज्दै विप्लवको भाषण सुनेका थिए । सभामा सहभागी हुनु अघि विप्लवले हातमा तरबार समात्दै युद्धको लागी आफ्नो पार्टी तयार भएको संकेत गरेका थिए ।
विप्लवले पनि पानीमा भिज्दै लामो र उत्तेजक भाषण गरेका थिए । विप्लवको जनसभामा स्कूले बिद्यार्थीपनि सहभागी भएका थिए । सभामा हजारौंको सहभागीता थियो ।