आन्दोलनरत दललाई वार्तामा आउन सरकारको आह्वान
काठमाडौं, ७ जेठ ।
सरकारले आन्दोलनरत् मधेसी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आह्वान गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरकारको तर्फबाट अधिकतम् लचकताकासाथ आन्दोलनरत् मोर्चामा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आह्वान गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री शेरधन राईले सन्चारकर्मीलाई जानकारी दिए ।
आन्दोलनरत् पक्षका मागलाई वार्ता, संवाद र सहमतिबाटै निकासमा पुगेर समाधान खोजी राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायत महत्वपूर्ण कामहरुमा केन्द्रित हुन पनि बैठकले सबैलाई आग्रह गरेको उनले बताए ।
‘सरकारले मधेसी मोर्चासहितका दललाई विगतमा पनि पटक–पटक लिखितरुपमा वार्ता र संवादमा बसी उपयुक्त निकासका लागि आग्रह गरिसकेको सन्दर्भमा फेरि एकपटक अधिकतम् लचकताकासाथ सरकार सबै कुरा सुन्न तयार छ र तत्कालै निकासमा पुगेर राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायतका विषयमा केन्द्रित हुन सरकारले सबैलाई आग्रह गरेको छ’–सन्चारमन्त्री राईले भने ।
सरकारले भर्खरै श्रीलंकामा गएको बाढी–पहिरोबाट भएको क्षतिको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको तर्फबाट एक लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको सन्चारमन्त्री राईले बताए । रासस