दुई थोपा हाँसो फेरि युएईमा
युएई , २८ वैशाख ।
सिस्नोपानी नेपालले दुई थोपा हाँसो हास्यब्यङ्य कार्यक्रम लिएर युएईका नेपाली मजदूर क्याम्पहरुमा जाने भएको छ । गैर आबासिय नेपाली संघ, युएईको सहयोग र समन्वयमा मे महिनाको २५, २६, २७ र २८ तारिकको दिन अबुधाबी, दुबईको जबलअली, सोनापुर र रस अल खैमहका नेपाली मजदूरहरु रहेका क्याम्पहरुमा निशुल्क कार्यक्रम गरिने एनआरएनए, युएईका प्रबक्ता बालाकृष्ण मरासिनीले जानकारी दिए ।
दुई थोपा हाँसो लिएर हाँस्यकलाकार मनोज गजुरेल, हास्य कवि टंकराज आचार्य र योग प्रशिक्षक डा. राजु अधिकारी युएई आउने उक्त कार्यक्रमका संंयोजक तथा एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले बताए । उक्त कार्यक्रम बाट उठेको रकम बिभिन्न जिल्लाहरुमा भएको आगलागी पीडितहरुलाई सहयोग गरिने श्रेष्ठले जानकारी गराए ।यसअघि पनि सिस्नो पानी नेपालले युएईमा यस्तै कार्यक्रम आयोजना गरेकोे थियो । उक्त कार्यक्रम निकै लोकप्रिय भएपछि सिस्नोपानीले फेरी युएईमा कार्यक्रम गर्न लागेको हो ।
सल्लाहकार पदमा नियुक्त
एनआरएन, युएईको आठौ बैठकले ३ जना ब्यक्तीलाई सल्लाहकार पदमा नियुक्त गरेको छ ।
६ मे मा बसेको बैठकले मेघराज सापकोटा, सालीक सुबेदी र राजेश दर्शन अर्याललाई सल्लाहाकारमा नियुक्त गरेको हो । सापकोटा पत्रकार महासंघ युएईका कोशाध्यक्ष समेत हुन भने सालीक सुबेदी ब्यवसायी तथा समाजसेवीको रुपमा युएईमा चिरपरिचित ब्यक्ती हुन । अर्याल खाडी क्षेत्रका पुराना एनआरएन कर्मी हुन ।