युरोपियन च्याम्पियन्स लिग – एथ्लेटिको मड्रिड फाईनलमा
काठमाडौैं,२२ वैशाख ।
दाबेदार बायर्न म्युनिखलाई पाखा लगाउँदै एथ्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
गएराति जर्मन क्लव बायर्न म्युनिखको मैदान अलियान्ज एरिनामा भएको दोस्रो लेगको खेलमा घरेलु टोली बायर्न २–१ ले विजयी भयो । तर पहिलो लेगमा १-० को जित हात पारेको स्पेनिस क्लव एथ्लेटिको मड्रिडले समग्रमा खेल २–२ गोलको बराबरी भएपछि अबे गोलको आधारमा फाईनलमा ठाँउ सुरक्षित गरेको हो ।
गएरातिको खेलमा बायर्नका लागि जाभी अलोन्सो र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरेका थिए ।
एथ्लेटिकोका एन्टोनियो ग्रेजम्यानले विपक्षी टोलीको मैदानमा गरेको अवे गोल नै खेलको निर्णायक गोल बन्यो । जितसँगै एथ्लेटिको मड्रिड प्रतियोगिताको फाईनलमा पुगेको छ भने बायर्न म्युनिख सेमिफाईनलबाटै बाहिरिएको छ ।
एथ्लेटिको मड्रिड पछिल्लो तीन वर्षमा दोस्रो पटक प्रतियोगिताको फाईनलमा पुगेको हो । समग्रमा भने एथ्लेटिको मड्रिडको यो तेस्रो फाईनल खेल हुनेछ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज स्पेनको रियाल मड्रिड र इंग्ल्याण्डको म्यानचेस्टर सिटी भिड्नेछन् । पहिलो लेगको खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।
सेमिफाईनलमा पुग्न रियाल मड्रिडलाई आजको खेल जित्नैपर्ने दबाब छ भने म्यान्चेस्टर सिटीले गोलसहितको बराबरी खेले पुग्नेछ ।