सरकारले आगलागी पीडितलाई घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने

काठमाडौ, २० बैशाख ।

Pmo-Office-555x335

सरकारले आगलागी पीडितलाई घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रीपरिषदको  बैठकले आगलागीबाट घर पूर्णरुपले क्षति पुगेका पीडितहरूलाई प्रतिपरिवार ३६ गेजको दुई बन्डल जस्तापाता दिने निर्णय गरेको हो ।
सो निर्णय अनुसार मंसिर मसान्त यता आगलागीबाट पूर्णरुपमा घर क्षति भएकाहरुलाई जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत जस्ता उपलब्ध गराइने छ ।
बैठकले त्यसका लागि आवश्यक पर्ने रकम गृहमन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै बैठकले आगलागीबाट नष्ट भएका खानेपानीका पाइपहरुलाई तुरुन्तै मर्मत सम्भार गर्ने र केन्द्रीय दैवीक प्रकोप उद्धार समितिलाई प्रभावकारीरुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले ६ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । बढुवा हुनेहरुमा गोविन्दप्रसाद रिजाल, झक्कप्रसाद आचार्य, नीता पोखरेल अर्याल, नवराज ढकाल, गजेन्द्रकुमार ठाकुर र उदयबहादुर राणामगर रहेका छन ।
त्यसरी नै मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।