किन भेटे देउवाले मधेशी नेताहरुलाई भारत जानुअघि ?

काठमाडौं, ५ वैशाख ।

d euwa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (आईतबार ) मधेशी मोर्चाका नेताहरुसंग भेट गरेका छन् । देउवाले भारत जानुअघिल्लो दिन मधेशी नेताहरुलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवा भोली (सोमबार)भारत जाँदै छन् । श्रीमति आरजु राणाको उपचारार्थ भारत जान लागेको भनिएपनि उनले त्यहाँ उच्चस्तरको राजनैतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । देउवाले मधेशी मोर्चाका नेताहरुलाई भेट्न आज आफ्नै निवास बुढानिलकण्ठ बोलाएका थिए । सभापति देउवाको नीजि सचिवालयका अनुसार मोर्चाका शिर्ष नेताहरु बुढानिलकण्ठ पुगेका थिए ।

संबिधानको बिरोध गरिरहेका मधेशी नेताहरुलाई आफ्नो भारत भ्रमणको उद्धेश्यबारे सभापति देउवाले जानकारी गराएका थिए । संविधान कार्यन्वयनमा भईरहेको ढिलाई र कांग्रेसले सरकारको विकल्पका बारेमा भारतसंग गर्ने छलफलका बारेमा पनि दुई पक्षबीच छलफल भएको श्रोतको भनाई छ । भेटमा मधेशी मोर्चाका नेताहरुले कांग्रेस सभापतिलाई बर्तमान सरकारको ठाउँमा नयाँ सरकार गठनबारे भारतसंग छलफल गर्न सुझाएको बताईएको छ । भारतीय सत्तापक्षको निमन्त्रणामा आरजु राणाको उपचारको निहुँ पारेर देउवा भारत जान लागेका हुन् । बर्तमान सरकारलाई मधेश र भारत बिरोधी सरकारका रुपमा हेरिएको बेला भारतले देउवालाई बोलाएर नयाँ सरकार गठनको उपयुक्र सुत्र निकाल्ने आँकलन गरिएको छ ।

बर्तमान सरकारको विकल्पमा भारतले कांग्रेस र मधेशी मोर्चालाई उपयुक्त सहयात्रीको रुपमा हेरेको छ । नेपालको संबिधानको बिरोध गर्दै आइरहेको भारतले ६ महिनासम्म नाकाबन्दी गरेको थियो । उसले नेपालको संबिधानलाई अहिलेसम्म पनि स्वीकारेको छैन । अहिलेको सरकारको नेतृत्वकर्ता एमालेलाई मधेश विरोधी भएको आरोप लगाएको मधेशी मोर्चा संविधान निर्माणपछि प्रतिपक्ष कांग्रेससंग नजीक देखिनु र भारतसंग पनि कांग्रेस नेतृत्व नजीक देखिनुले भारतीय चासो निक्कै बढेको देखिन्छ । बिशेषगरी प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला नेपालसंग भएका सम्झौताले भारत झस्किएको बिश्लेषण गरिदैछ । तराईमा ६ महिना आन्दोलन गरेको मधेशी मोर्चाले आफ्ना मागहरु पुरा नभएको भन्दै आन्दोलनको धम्कि दिइरहेका बेला भारतले देउवा मार्फत सरकारको विकल्पको उपयुक्र सुत्र दिने बुझिएको छ ।