नयाँ बजेटसँगै सरकारले स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने -संचारमन्त्री
काठमाडौं, बैशाख ५ ।
संचारमन्त्री शेरधन राईले नयाँ बजेटसँगै सरकारले स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायको निर्वाचनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।
स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा आम जनतालाई मार परेको भन्दै मन्त्री राइले निर्वाचन गर्नेमा सबै दल सहमत हुने आशा ब्यक्त गरे ।
सरकारले वर्षायाम अघि नै भुकम्प पीडितहरुलागि सामुहिक आवास निर्माण गरिसक्ने उनको भनाई थियो ।
मन्त्री राईले विगतमा भएको भद्र सहमतिको पालना गर्दै नेपाली कांग्रेस सरकारमा सामेल हुनुपर्ने पनि बताए । सरकारले मधेशी मोर्चासँग वार्ता गरी समस्याको समाधान खोज्ने उनको भनाई थियो ।