प्रधानमन्त्री ओलीद्धारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास
विमानस्थलका लागि प्रस्तावित जग्गामा बुधबार भव्य समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले इटा राखेर शिलान्यास गरेका हुुन् ।
यो संगै मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा निर्माण हुने पक्का भएको होे । पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ ।चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ ।शिलान्यस कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब चीनको केरुङबाट काठमाडौं पोखरा हुँदै लुम्बिनी पुग्ने रेलमार्गको काम पनि सुरु हुने बताए । उनले ुतराईका नेता र मै हुँ भन्ने मसिहाहरुलार्ई कालो टालो समाउन छोडेर राष्ट्रिय झन्डा बोकेर विकास निर्माणका काममा अघि बढ्न आह्वान गरे ।विमानस्थल शिलान्यास समारोहमा एमाओेवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्र्चण्डले पनि इटा राखेका थिए । अध्यक्ष प्रचण्डले २०७३ नयाँ वर्ष विकास निर्माणको अभियानबाट सुरु भएको बताए । भूकम्पपछिको पुनर्निर्माण, विकास निर्माण र समग्रमा संविधानको कार्यान्वयन हुनुपर्ने उनले बताए ।
एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रस्तावित ४ नम्बर प्रदेश नयाँ युगमा प्रवेश गरेको बताए ।
फोरम लोकतान्त्रिकका नेता एवं उपप्रधानमन्त्री विजय गच्छदारले एक मधेस एक प्रदेस हुन नसक्ने जिकिर गरे । सबै राजनीतिक शक्तिहरु एक ठाउँमा आएर देशको विकासमा लाग्नुपर्नेमा उनले जोड दिए ।
राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले ४० वर्षपछि पोखरेलीको सपना साकार भएको भन्दै बधाई दिए ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले ठूला योजनामा राजनीतिकरण गर्न नहुने बताए । कांग्रेस रचनात्मक प्रतिपक्ष भएर विकास निर्माणमा सरकारलाई सहयोग गर्ने उनको भनाइ थियो ।
शिलान्यास समारोेहमा उपप्रधानमन्त्रीहरू कमल थापा, विजयकुमार गच्छदार, पर्यटनमन्त्री आनन्द्रप्रसाद पोखरेल र कांग्रेस महामन्त्री सशांक कोइरालाले पनि निर्माणस्थलमा एक एकवटा इँटा राखेका थिए ।
नयाँ वर्ष २०७३ को पहिलो दिन पारेर आयोजित शिलान्यास समारोहमा उल्लेख्य संख्यामा नगरवासीहरु सहभागी थिए । पश्चिममा अमरसिंह चोक र पूर्वमा चाउथे चोकदेखि नै स्वागतद्वार बनाइएको कार्यक्रम हेर्न जानेहरू जातीय पहिरन, झाँकी र बाजागाजा साथ पुगेका थिए ।
पोखरा विमानस्थल- सरकारको राष्ट्रिय गौरवको योजना
पोखरा विमानस्थललाई सरकारले राष्ट्रिय गौरवको योजनामा राखेको छ । चीनको एक्जिम बैंकले करिब २२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएपछि निर्माणको काम अघि बढ्न लागेको हो । प्रधानमन्त्री ओलीको हालै भएको चीन भ्रमणमा दुई देशबीच ऋण सम्झौता भएको थियो ।४ वर्षमा निर्माण सकिने विमानस्थलको निर्माणमा चीनकै सिएएमसी कम्पनी छनोट भइसकेको छ । इपीसी इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४डी’ बिमानस्थल बन्न लागेको हो । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण गर्न र उड्न सक्छन् । विमानस्थलको धावन मार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाईको हुनेछ ।
सरकारले ०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुग्ने भएपछि हालैमात्र ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको छ ।