५३ जना मेयरले आगामी निर्वाचनमा उमेदवार बन्न नपाउने

मूलखबर संवाददाता
काठमाडौं, १२ मंसिर

आगामी स्थानिय तहकाे निर्वाचनमा ५३ जना नगर प्रमुखहरूले उमेदवारी दिन नपाउने भएका छन् । संविधानमा भएको व्यवस्था अनुसार एउटै व्यक्ति एउटै पदमा दुई पटक भन्दा बढी निर्वाचित हुन नपाईने उनीहरू पुन मेयर पदका उमेदवारका लागि अयाेग्य भएका हुन् ।

प्रदेशगत विवरणअनुसार आगामी निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशका १५ जना नगरप्रमुख पुनः सोही पदमा उम्मेदवार बन्न पाउने छैनन्। त्यस्तै, बागमती प्रदेशका १२, कोशी प्रदेशका १०, लुम्बिनी प्रदेशका ६, गण्डकी प्रदेशका ५, सुदूरपश्चिम प्रदेशका ३ र कर्णाली प्रदेशका २ जना नगरप्रमुख दुई कार्यकाल पूरा गरेका कारण मेयर पदको प्रतिस्पर्धाबाट बाहिरिनेछन्।

मधेश प्रदेशका १५ नगरप्रमुखमध्ये सप्तरीको बोदेबरसाइन नगरपालिकाका आतेशकुमार सिंह, सिरहाको मिर्चैया नगरपालिकाका श्रवणकुमार यादव र सुखीपुर नगरपालिकाका रामऔतार यादव रहेका छन्।

त्यस्तै, धनुषाको विदेह नगरपालिकाका बेचन दास तत्मा र धनुषाधाम नगरपालिकाका बालेश्वर मण्डल, महोत्तरीको भंगाहा नगरपालिकाका सञ्जीवकुमार साह, मटिहानी नगरपालिकाका हरिप्रसाद मण्डल र लोहारपट्टी नगरपालिकाका शैलेन्द्रकुमार यादव पनि आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बन्न पाउने छैनन्।

यसैगरी, सर्लाहीको गोडैटा नगरपालिकाका देवेन्द्रकुमार यादव र बागमती नगरपालिकाका भरतकुमार थापा, रौतहटको गुजरा नगरपालिकाका सन्तलालप्रसाद चौधरी, गढीमाई नगरपालिकाका श्यामप्रसाद यादव, परोह नगरपालिकाका शेख वकिल र मौलापुर नगरपालिकाका रीना कुमारी शाह पनि दुई कार्यकाल पूरा गरेकाले पुनः मेयर पदमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनेछन्।

बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादव पनि यही संवैधानिक व्यवस्थाको दायरामा परेका छन्। दुई कार्यकाल स्थानीय तहको नेतृत्व गरिसकेका नगरप्रमुखहरू आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बन्न नपाउने भएपछि स्थानीय राजनीतिक वृत्तमा नयाँ नेतृत्व र सम्भावित उम्मेदवारबारे चर्चा सुरु हुने देखिएको छ।