सामाजिक सुरक्षा कोष नवाैं वर्षमा, ३३ अर्ब लगानीको पर्खाइमा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको एक खर्ब ३३ अर्ब २६ करोड रुपियाँ लगानीको पर्खाइमा छ । योगदानकर्ता र राष्ट्रिय कल्याणकारी कोषको समेत गरेर एक खर्ब ५८ अर्ब बराबरको रकम निजी ठुला परियोजनामा दीर्घकालीन लगानीको पर्खाइमा रहेको हो ।
निजी तथा अनौपचारिक क्षेत्रका समेत योगदानकर्ता जोडिएको सो कोषमा दिनदिनै रकम बढ्दै गए पनि उचित लगानी भने हुन सकेको छैन । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले निजी क्षेत्रको समेत सहयोगमा औपचारिक क्षेत्रमा कार्यरत योगदानकर्ताबाट कोषमा जम्मा भएको रकम देशको उत्पादनमूलक उद्योग तथा पूर्वाधारमा लगानी गर्नुपर्ने माग गर्दै आएका छन् ।
सामाजिक सुरक्षा ऐन, २०७४ र त्यसलाई टेकेर बनेको सामाजिक सुरक्षा लगानी कार्यविधि, २०७७ मा पनि दीर्घकालीन पेन्सन कोषलाई उत्पादनमूलक उद्योग, बैङ्क तथा वित्तीय संस्थामा लगानी, सेयर तथा पूर्वाधारमा लगानी गर्न सक्ने उल्लेख छ ।
कोषका अनुसार कोषले हाल बैङ्क तथा वित्तीय संस्थाको मुद्दतीसहित छ क्षेत्रमा लगानी गरिरहेको छ । कोषले डिबेन्चर, सरकारी ट्रेजरी बिल्स, विकास ऋणपत्र, म्युचल फन्ड र बचतकर्तालाई सापटीका रूपमा पनि लगानी गर्दै आइरहेको जनाएको छ ।
कोषमा जम्मा भएको रकमबाट ६१ अर्ब ९८ करोड रुपियाँ बैङ्कको मुद्दतीमा, सरकारी ट्रेजरी बिलमा ३९ अर्ब ९५ करोड, डेभलपमेन्ट बन्डमा २७ अर्ब ९२ करोड लगानी गरेको छ । कोषले डिबेन्चरमा चार अर्ब ८४ करोड म्युचुअल फन्डमा एक अर्ब ६४ करोड लगानी गरेको जनाएको छ । यस्तै योगदानकर्तालाई योगदानकर्ता सापटीबापत हालसम्म ११ अर्ब ५० करोड रकम लगानी गरिएको छ । कोषका प्रवक्ता कृष्ण अधिकारीले योगदानकर्ता सापटी अन्तर्गत कोषले ३.२ प्रतिशतमा नै विशेष सापटी, ५.८५ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी र छ प्रतिशतमा जग्गा सापटी प्रदान गरिरहेको जानकारी दिनुभयो । तस्बिर : फाइल फाेटाे





